News Portal

  • नेकपाद्वारा १० बुँदे समसामयिक प्रस्तावहरु

    जनगर्जन संवाददाता
    २३४ पटक

    १) हरेक पाँचपाँच वर्षमा दलाल पुँजीवादी सत्तालाई पुनर्जीवन दिने संसदीय व्यवस्थाको चुनाव मंसिर ४ गते आउँदै छ । पुँजीवादी व्यवस्थाको चुनाव भनेको सत्ताको असफलता र संकटलाई टालटुल पार्ने, निर्वाचनका नाममा पुराना पात्रका ठाउँमा नयाँ पात्र खडा गर्ने, एकथरी लुटेराको सट्टा अर्का लुटेराहरु अगाडि सार्ने, पुराना सम्बन्धहरुको स्थानमा नयाँ सम्बन्धहरु निर्माण गर्ने, श्रमिक जनतालाई पुँजीवादबाट पुँजीवादमै, चुनावबाट चुनावमै, संसद्बाट संसद्कै गोलचक्करमा घुमाउने अल्झाउने खेल हो ।
    नेलामा दशकौंदेखि नेपाली श्रमिक जनताले दलाल पुँजीवादी सत्ता एवं संसदीय व्यवस्थाको सट्टा वैज्ञानिक समाजवादी सत्ता चाहँदै आएका छन् । त्यसका लागि अमूल्य जीवनको असंख्य बलिदान गरेका छन् । यतिवेला देशमा संसदीय व्यवस्थाको दलालीकरण, वदनामी, टाटपल्टाई र असफल भएको स्थिति छ । जनताले यसको विकल्प केन्द्र र स्थानीय स्तरमा खोजिरहेका छन् । अर्कोतिर हाम्रो पार्टीमाथि राज्य षड्यन्त्रकारी तरिकाले उत्रिएको छ, ३ बुँदे सहमतिलाई लागू गरिएको छैन, कमरेडहरुलाई जेल मुक्त गरिएको छैन, झुट्टा मुद्दाहरु खारेज गरिएका छैनन् । यस्तो वेला कुनै पनि नाममा दलाल पुँजीवादी सत्ताको संसदीय व्यवस्थाको संघ र प्रदेशका चुनाव उपयोग, प्रयोग गर्नु उचित र सम्भव छैन । बरु जनतालाई राजनीतिक विचार, संघर्ष र प्रयोग सबैतिरबाट वैज्ञानिक समाजवादी सत्ताको विकल्प हामीले नै दिनु पर्छ । तसर्थ मंसिर ४ को संसदीय चुनावलाई सशक्त प्रकारले खारेज गरिने छ ।

    २) ३ बुँदे सहमति पार्टीको कार्यकुशलता, श्रमिक जनताको साथ सहयोग, मित्र शक्तिहरुको सहयोग, अन्तर्राष्ट्रिय जनमत, प्रतिक्रियावादी सत्ताको संकटका कारणले सम्भव भएको थियो । सारमा एकीकृत जनक्रान्तिको सफलता थियो । तर, ३ बुँदेलाई राज्यले जसरी निशर्त पालना र कार्यान्वयन गर्नु पर्दथ्यो त्यो गरेन । पछिल्लो समयमा कथित कानूनी प्रकृयाको तर्क गर्दै ३ बुँदेमा हस्ताक्षर गर्ने नेतृत्वसहित पार्टीका नेताहरुलाई पक्राउ पुँर्जी जारी गर्ने षड्यन्त्रमा उत्रियो । चौतर्फी विरोध र पार्टीकोे उचित पहलका कारण राज्य केही पछि हटे पनि लागू गर्नेमा इमान्दार देखिएको छैन । राज्यको यस गैरजिम्मेवार रबैयालाई ऐतिहासिक महाधिवेशन घोर भत्र्सना गर्दछ ।

    ३) मुठ्ठीभर शोषकवर्गको सत्ताले शोषणका अनेकौं र नयाँ–नयाँ रुपहरु पैदा गरिरहन्छ । गाउँदेखि केन्द्रसम्म विभिन्न फटाहा र ठगहरु जन्मन्छन् र जनताले बुझ्दा नबुझ्दै आफ्नो थैली भरिसक्छन् र जनतालाई कंगाल बनाइसक्छन् । त्यहीमध्ये दलाल पुँजीवादको स्थापनासँगै गाउँदेखि सहरसम्म मिटरव्याजे (चक्रिय व्याजी) फटाहाहरु उमारेको छ । मिटरव्याजले हजारौं किसान तथा साना व्यवसायीलाई उठिबास लगाएको छ । एउटा तीखो वर्ग संघर्ष यसमा केन्द्रीत हुन पुगेको छ । पार्टी मिटरव्याजे विरुद्ध सशक्त संघर्ष गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।

    ४) भारी बर्षा, गरिबी, प्रविधिहरुको अव्यवस्थित प्रयोग जस्ता कारणले कर्णाली, सुदूरपश्चिम लगायत देशका विभिन्न भागमा दर्जनौं नागरिकहरुले ज्यान गुमाउनु परेको छ, दर्जनौं वेपत्ता छन् । हजारौं नागरिकहरु घरबारविहीन भएका छन् । करोडौंको सम्पत्ति क्षति पुगेको छ । महाधिवेशन बाढीपहिरोमा ज्यान गुमाउने नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेहरुको उचित उपचार, घरबारविहीनहरुको व्यवस्थापन गर्न साथै असुरक्षित बसोबासलाई सुरक्षित स्थानमा सार्न सरकारलाई माग गर्दछ ।

    ५) संसदीय सरकार र हाम्रो पार्टीबीच ३ बुँदे सहमति भएको अठार महिना पुग्दैछ तर उसले सहमतिअनुसार न बन्दी कमरेडहरुलाई मुक्त गरेको छ न त मुद्दाहरु नै खारेज गरेको छ । उल्टै अनेकौं बहानामा पार्टीलाई घेराबन्दी र दमन गर्ने षड्यन्त्र चलाइरहेको छ । हालसम्म पनि ३९जना कमरेडहरु जेलमा हुनुहुन्छ भने नक्कली मुठभेड भनेर गरिएको अक्षम्य हत्याको कुनै छानविन हुन सकेको छैन । महाधिवेशन बन्दी कमरेडहरुको रिहाइ, झुट्टा मुद्दाहरुको खारेजी र हत्याराहरुमाथि कडा कारवाहीको माग गर्दछ ।

    ६) नेपाली नागरिकहरुले निर्वाधरुपले नागरिकता पाउनु पर्छ । को नागरिक नेपाली हो र को होइन, कस्लाई कुन मान्यताभित्रबाट नागरिकता दिने भन्ने विषय र अधिकार नेपाली जनताको हो । तर, नेपालीको दलाल पुँजीवादी सत्ता र संसद्वादी दलालहरुले पदको तुच्छ स्वार्थका लागि विदेशी शक्ति विशेषतः दिल्लीका मालिकहरुसँग अनुचित तरिकाले साँठगाँठ गर्ने र नेपाली नागरिकमाथि गलत निर्णयहरु लाद्ने जुन अनैतिक तरिकाहरु प्रयोग गरिरहेका छन्, त्यस कार्यको महाधिवेशन विरोध गर्दछ ।

    ७) नेपाली जनताको चाहना र स्वीकृतिविना लादिएको राष्ट्रघाती एमसीसी सम्झौता जबरजस्ती कार्यान्वयन गर्न खोजिदैछ । नुवाकोट, पाल्पा, मकवानपुरलगायतका जिल्लामा सयौं रोपनी जमिन अधिकरण गरिँदै छ । एमसीसी सम्झौतासँग जोडेर एसपीपी सैन्य सम्झौता लाद्ने र साम्राज्यवादी युद्धको खेलमैदान बनाउने षड्यन्त्र चलिरहेको छ । महाधिवेशन उक्त राष्ट्रघाती सम्झौता खारेज गर्न माग गर्दछ ।

    ८) साम्राज्यवाद युद्ध हो, उसले आफ्नो बजार, मुनाफा र प्रभुत्वका लागि विश्वलाई विभाजित गरिछोड्छ भन्ने सच्चाइलाई युक्रेन युद्धले सामान्य नागरिकले पनि बुझ्नेगरी प्रष्ट गरेको छ । अमेरिकी भूमण्डलीकृत साम्राज्यवादको योजनामा युक्रेनका दलालहरुलाई जबरजस्त युद्धका लागि तयार गरियो भने रुसी साम्राज्यवादले आफ्नो रक्षाको बहाना बनाएर युक्रेनमाथि हमला ग¥यो । साम्राज्यवादीहरुबीचको टक्करले युक्रेनी जनताले ठूलो क्षति भोग्नु परिरहेको छ । महाधिवेशन युक्रेनमाथिका साम्राज्यवादी युद्ध रोक्न आह्वान गर्दछ ।

    ९) केही दिन अगाडि २१औश् शताब्दीका मानवलाई नै लज्जित, भयभित एवं आक्रोशित पार्ने घटना दक्षिण भारतमा दुईजना नारीलाई मानव बलि दिएको समाचार सुनियो । बली केही व्यक्तिले आपूmलाई शुभ, समृद्धि हुने अन्धविश्वासमा यस्तो जघन्य अपराध गरिएको थियो । यसका पछाडि पुँजीवादी निजी स्वार्थले उत्प्रेरित गरिरहेको छ । महाधिवेशन उक्त बर्बर घटनाको जोड्दार भत्र्सना गर्दछ साथै उक्त घटना घटाउने क्रुर अपराधीहरुलाई कडा कार्यवाहीको माग गर्दछ ।

    १०) हाम्रो जनप्रिय पार्टीको ऐतिहासिक नवौँ महाधिवेशन साम्राज्यवादी, दलाल पुँजीवादी, धोकेबाज षड्यन्त्रकारीहरुका अनेकौं घेराबन्दी, दमन र षड्यन्त्रहरुलाई चकनाचुर पार्दै भव्यरुपले सफल भएको छ । देशभित्र र बाहिर भारत, युरोप, मध्यपूर्व, पूर्वी एसियामा संगठित आफ्नै नेता कार्यकर्ता, जनता, शुभचिन्तक नागरिकहरुको श्रम, सहयोग, लगानी र योजनामा बनेको पार्टी केन्द्रीय सम्पर्क कार्यालयको भवनमा सम्पन्न यो महाधिवेशन अभूतपूर्व रहेको छ । महाधिवेशनलाई सफल पार्न सुरक्षा, सूचना संचार, मेस एवं व्यवस्थापनमा पार्टीका आफ्नै स्वयम्सेवक कमरेडहरु दिनरात खट्नु भयो भने देशैभरीका हाम्रा पार्टी सदस्य, शुभचिन्तक जनता र मित्रहरुले अमूल्य सहयोग गर्नु भयो । महाधिवेशनलाई शुभकामना दिन मित्र पार्टीहरु नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव कमरेड अहुति, नेपाल कम्युनिष्ट पार्टीका कोषाध्यक्ष विनोद उपाध्यय प्रत्यक्ष उपस्थित हुनुभयो । त्यसैगरी प्रगतिशील कानून व्यवसायीका अध्यक्ष एकराज भण्डारी, मानवधिकारवादी संस्था राष्ट्रिय जनअधिकार अभियानका उपाध्यक्ष देवबहादुर, राष्ट्रिय वामपन्थी मंचका संयोजक दीर्घ पाण्डे, एकीकृत जनक्रान्तिका महान् सहिद कमरेड नीरकुमार राईकी जीवनसाथी इन्द्रकला राई, वेपत्ता योद्धका अध्यक्ष रामबहादुर थापा, घाइते कमरेड सुरेन्द्र महर्जनलगायत मोर्चा र जवसहरुका प्रतिनिधि कमरेडहरुले सफलताको ऊर्जावान शुभकामना दिनुभयो । महाधिवेशनलाई अन्तर्राष्ट्रिय सर्वहारावादको भावनासहित इटली कम्युनिष्ट पार्टी, फिलिपिन्स कम्युनिष्ट पार्टी र जर्मनीको माक्र्सवादी–लेनिनवादी पार्टी र अफगानिस्ताको कम्युनिष्ट पार्टीले सफलताको शुभकामना पठाउनु भयो । महाधिवेशन नवौँ महाधिवेशन सफलताका लागि सहयोग गर्ने जनता, भाइचार पार्टी, मित्र पार्टी, स्वयमसेवक कमरेडहरु, सहिद तथा वेपत्ता योद्धाका परिवार, घाइते योद्ध, पत्रकार, जवस, मोर्चाका कमरेडहरु साथै देश तथा विदेशमा रहनु भएका पार्टी सदस्य कमरेडहरु सबैप्रति विषेश आभारसहित धन्यवाद ज्ञापन गर्दछ ।

    प्रतिकृया दिनुहोस्