News Portal

मुलुक बिगार्ने सबैलाई कारबाही हुनुपर्छ, जेल पनि ठूलो बनाउनु पर्छ : सांसद डा. चन्द्र भण्डारी

जनगर्जन संवाददाता२०८२ जेठ २३
१९ पटक

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीले सत्ताको दुरुपयोग गरी मुलुक र जनतालाई नोक्सान पुर्‍याउने जो–कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीतिगत निर्णयका नाममा मनपरी गर्ने प्रवृत्तिको आलोचना गरे। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि भण्डारीले यस्तो धारणा राखेका हुन्।

“सत्ताको रापतापमा मुलुक र जनतालाई घाटा हुने काम गर्नुभएन भन्ने कुरा नेताहरूले बुझ्नुपर्छ,” उनले भने, “अब माधव नेपाल पर्नुभयो, तर यस्ता गल्ती त धेरैले गरेका छन् — नीतिगत होस् वा प्रत्यक्ष। कारबाही सबैलाई हुनुपर्छ, एउटालाई मात्रै होइन।”

उनले मन्त्रिपरिषद्को निर्णयको नाममा जथाभावी गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै भने, “व्यक्ति त आउने–जाने गर्छन्, तर मुलुक रहन्छ। मुलुकलाई घाटा लाग्ने निर्णय गर्न पाइँदैन। मुलुक बिगार्ने सबैलाई कारबाही गर्नुपर्छ र जेल पनि अलि ठूलो बनाउनु पर्छ।”

संविधानिक निकायदेखि शिक्षा क्षेत्रसम्म नेताहरूले आफ्ना मान्छे भर्ने प्रवृत्ति बढेको भनी भण्डारीले गुनासो गरे। सही व्यक्ति, सही ठाउँमा र सही समयमा जिम्मेवारी दिन सकिए मात्र सुधार सम्भव हुने उनको भनाइ छ।

राजनीतिक व्यवस्थाको आलोचना गर्दै उनले भने, “राजतन्त्र होस् वा प्रजातन्त्र, प्रवृत्ति एउटै भयो। सत्तामा पुग्नेबित्तिकै महँगा गाडी, महँगा घर र मोजमस्ती गर्ने, तर देश र जनताको चिन्ता कसैलाई छैन। व्यक्ति परिवर्तन भए तर प्रवृत्ति र सोचाइमा परिवर्तन आएन।”

सांसद भण्डारीले मुलुकको दीर्घकालीन हितका लागि सोचाइ, नीतिगत ईमानदारी र उत्तरदायित्वमा आमूल सुधार आवश्यक रहेको बताए।

प्रतिकृया दिनुहोस्