News Portal

स्वाधीनता, सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद के हाे ।

जनगर्जन संवाददाता२०८२ जेठ २०
५२ पटक

कञ्चनपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले स्वाधीनता, सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद नेपाली जनतालाई सरल भाषामा बुझाउनु पर्ने बताउनु भएको छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को सुदूरपश्चिम प्रदेश भेलालाई मंगलवार कञ्चनपुरको बेलौरीमा सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले स्वाधीनता, सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद नेपाली जनतालाई सरल भाषामा बुझाउनु पर्ने बताउनु भएको हो ।

पूर्वप्रधानमन्त्री भट्टराईले भन्नु भयो ‘नेपाली जनताका लागि अनिवार्य भएको कुरा पाँच बटा विषय स्वाधीनता, सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद हो । यसलाई सहज र सरल भाषामा नेपाली जनतालाई बुझाउन नसक्दा प्रतिगामीहरु सल्वलाएका हुन । यसलाई सरल र सहज भाषामा जनतालाई बुझाउँ ।’
उहाँले भेलाले नेपाली राजनीतिमा देखिएका प्रमुख समस्याहरू र तिनको समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय लेखा आयोगका प्रमुख डा. जनकराज शाहले नेपालको अर्थ–राजनीतिले नेपाली जनताका अपेक्षा र आकांक्षा पूरा गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार आर्थिक क्रान्ति गर्नुभन्दा पहिले राजनीतिक क्रान्तिहरू पूरा गर्नुपथ्र्यो, तर नेताहरूकै कारणले नेपाली राजनीति सफल हुन सकेन भन्नु भयो ।

उहाँले अहिलेको राजनीतिप्रति जनतामा वितृष्णा पलाएको उल्लेख गर्दै सबैले जनता र देश बनाउने राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ शक्ति नेपालले नयाँ संस्कृति, सुशासन र समृद्धिसहितको राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पार्टीका केन्द्रीय उपाध्यक्ष दुर्गा सोवले डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ल्याईएका जनमुखी नीति तथा कार्यक्रमहरूमै वर्तमान सरकारले काम गरिरहेको टिप्पणी गर्नु भयो।

उपाध्यक्ष सोवले भन्नु भयो, ‘वावुराम सरकारको पालामा ६० वर्षको उमेरमा दलितहरूलाई सामाजिक भत्ता दिने व्यवस्था भयो । कर्णालीको भौगोलिक र आर्थिक विकटतालाई ध्यानमा राख्दै सो क्षेत्रका वृद्धवृद्धाहरूलाई पनि ६० वर्षको उमेरमा सामाजिक भत्ता दिने व्यवस्था भयो । कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने तथा एकल महिलाका लागि सामाजिक भत्ताको व्यवस्था भयो ।’
उहाँले जनमुखी विकास र जनताका हरेक समस्यालाई नजिकबाट हेर्ने, जनभावना बुझ्ने र देशप्रति माया गर्ने नेता डा. भट्टराई भएको बताउँदै सम्पूर्ण जनसमुदाय र पार्टी कार्यकर्ताहरूलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा आबद्ध हुन आग्रह गर्नु भयो ।

हरि तिमिल्सिनाकाे अध्यक्षतामा भएकाे भेलामा केन्द्रीय सदस्यहरू सत्यदेवी चापागाईं, रतन टमट्टा, प्रदेश सल्लाहकार रामकृष्ण ढकाल, कञ्चनपुर जिल्ला इन्चार्ज दिपेन्द्र बहादुर शाही,कैलाली जिल्ला अध्यक्ष लोक बहादुर विक, हिरासिंह भण्डारी, कञ्चनपुर जिल्ला अध्यक्ष रुकुम सिंह, दीपक बराल लगायतहरुकाे उपस्थिति रहेकाे थियाे ।
प्रदेश अधिवेशन संयाेजक समितिका सदस्य वीरेन्द्र साउदले साे कार्यकर्मकाे सञ्चालन गरेका थिय ।

प्रतिकृया दिनुहोस्