News Portal

ओलीको समर्थनमा क्षेत्रीः “जनताले राम मानेका छन् भने, म उहाँको हनुमान हु”

जनगर्जन संवाददाता२०८२ जेठ २१
२८ पटक

काठमाडौ । नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गर्दै, उनलाई राम मानिएको सन्दर्भमा आफूलाई हनुमानको रूपमा प्रस्तुत गरेका छन्।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै क्षेत्रीले प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको आलोचना नियोजित र अनैतिक भएको दाबी गरे। उनले माओवादी केन्द्रका केही व्यक्तिहरूलाई “विषाक्त मानसिकता भएका” भनेर टिप्पणी गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूलाई अनुहार देखाउन पनि लायक नरहेको आरोप लगाए।

“यी केही माओवादीका केटाहरू छन्, जसको सोचमा विष घुसिसकेको छ। रास्वपाका कतिपय पुराना र असफल अनुहारहरूले आफू मात्र ठीक छु भन्ने ढंगले गालीगलौजमा राजनीति गरिरहेका छन्,” क्षेत्रीले भने।

उनको दाबी अनुसार, रास्वपाका केही कार्यकर्ताहरूलाई सयौँ सीमकार्ड दिइ fake ID बनाएर सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीविरुद्ध गलत सूचना र अभिव्यक्ति फैलाउने काममा लगाइएको छ।

क्षेत्रीले ओलीप्रति आफ्नो निष्ठा स्पष्ट पार्दै भने, “यदि जनताले ओलीलाई राम मान्छन् भने म उहाँको हनुमान हुन तयार छु। विचार, सिद्धान्त, नीति र नेतृत्वप्रति समर्पणको हिसाबले म हनुमानजस्तै निष्ठावान् छु।”

उनको यो अभिव्यक्तिले सत्तारुढ दलभित्र ओलीको नेतृत्वप्रति अझै बलियो समर्थन रहेको सन्देश दिएको छ भने, प्रतिपक्षीहरूप्रति कडा आलोचना समेत प्रस्तुत गरेको छ।

प्रतिकृया दिनुहोस्