News Portal

पत्रकार महासंघको अग्रगामी निर्णय – अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन

जनगर्जन संवाददाता२०८२ आषाढ ८
३४ पटक

पोखरा, असार ८ – नेपाल पत्रकार महासंघले युट्युबलगायतका सामाजिक सञ्जालहरूलाई पत्रकारिताकै प्लेटफर्मको रूपमा स्वीकार गरेको छ ।
इन्टरनेटका माध्यममा भइरहेको पत्रकारिताको अभ्यासलाई पनि पेशागत पत्रकारिताको श्रेणीमा राखेर आवश्यक कानुनी मान्यता, नीति, र नियमन प्रणालीको दायरामा ल्याउन महासंघले सरकारसँग माग गरेको छ ।

पोखरामा सम्पन्न महासंघको दुई दिने तेस्रो बैठकले इन्टरनेट र प्रविधिको तीव्र विकाससँगै सूचनाको प्रवाह शैलीमा आएको आमूल परिवर्तनलाई स्वीकार गर्दै डिजिटल माध्यमहरूमा भइरहेको पत्रकारितालाई राज्यद्वारा स्थापित मापदण्ड र संरचनाभित्र ल्याउनुपर्नेमा जोड दिएको हो ।
महासंघले युट्युबलगायत डिजिटल प्लेटफर्महरूलाई पत्रकारिता पेशाकै अंगका रूपमा परिभाषित गरी दर्ता, मान्यता, प्रशिक्षण, आचारसंहिता, श्रम अधिकार, र सामग्री नियमनका सवालमा स्पष्ट कानुनी व्यवस्था गर्न आग्रह गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।
महासंघका केन्द्रीय सदस्य लवदेव ढुडगानाले युट्युवलगायतका सामाजिक सञ्जालमा भइरहेको अनलाइन टिभी पत्रकारिता र एआईको प्रयोगलाई व्यवस्थीत गर्नुपर्ने लिखित प्रस्ताव बैठकमा राख्नु भएको थियो ।

उहाँले आफ्नो प्रस्तावलाई केन्द्रीय समितिले अपनत्व लिएकोप्रति सन्तुष्टि जनाउदै अनलाइन टिभी र एआईलाई व्यवस्थीत तथा जिम्मेवार बनाउने कार्य तत्कालै गर्नुपर्ने खाँचो औल्याउनु भयो ।
महासंघको यस निर्णयलाई अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले पनि ऐतिहासिक र अग्रगामी निर्णयको संज्ञा दिनु भएको छ । उहाँले धेरै अगाडि गर्नुपर्ने निर्णय महासंघले अहिले गरेको भएपनि एकदमै खुशी लागेको बताउदै अव कार्यान्वयन गराउने तर्फ केन्द्रीत हुन आग्रह गर्नुभयो ।
अनलाइन टिभीहरुलाई कानुनी मान्यता नदिँदा बरिष्ठ पत्रकार दिलभूषण पाठक जस्ता पत्रकारहरुलाई अनावश्यक झमेलामा पर्नु परेको उहाँको भनाई छ ।
महासंघको घोषणापत्रमा पत्रकार दिलभूषण पाठकविरुद्धको पक्राउ पूर्जीमा उच्च अदालतबाट रोक लगाइनु र नेपालखबर तथा बिजमाण्डु डटकममाथिको समाचार हटाउने आदेश खारेज हुनु अदालतको स्वागत योग्य कदम भएको उल्लेख गरिएको छ ।

सञ्चारमाध्यममाथिको अनावश्यक दबाब, पोष्ट डिलिटका निर्देशन, श्रमजीवी पत्रकारको पारिश्रमिक कटौती तथा अपमानजनक व्यवहारप्रति विरोध जनाउँदै महासंघले श्रमिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएको छ ।
पत्रकार सुरेश रजकको हत्या र पत्रकारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महासंघले निष्पक्ष छानबिन र पत्रकार सुरक्षा नीतिको तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। महासंघले श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि, सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धता तथा न्यूनतम पारिश्रमिकको कार्यान्वयन सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयकलगायत मिडियासम्बन्धी कानुन सरोकारवालासँग गम्भीर छलफलबिना पारित गर्न नहुने ठहर गर्दै महासंघले प्रेस स्वतन्त्रता प्रतिकूल कुनै पनि कानुनी प्रावधान नल्याउन चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्