News Portal

बैजनाथमा हराइरहेका ६५ वर्षीय वृद्धको शंकास्पद अवस्थामा शव फेला, टाउको छुट्टै भेटिएपछि रहस्य बढ्यो

जनगर्जन संवाददाता२०८२ आषाढ ६
२२ पटक

बैजनाथ (बाँके) । बाँकेको बैजनाथ गाउँपालिका–६, ज्योती आधारभूत विद्यालय र पूर्व–पश्चिम महेन्द्र राजमार्ग नजिकैको खाडलमा एक वृद्ध पुरुषको गन्हाएको शव फेला परेको छ। मृतकको पहिचान बैजनाथ–३ गाभर निवासी करिब ६५ वर्षीय रन बहादुर परियारको पृष्टि गरिएको छ, जो करिब ४–५ महिनाअघि सामाजिक सुरक्षा भत्ता लिन घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए।

स्थानीयवासीले शव सडिसकेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी सम्झनाबाट धन बहादुर थापाको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र र करिब १० हजार रुपैयाँ नगदको आधारमा पहिचान पुष्टि गरेको हो।

प्रहरीका अनुसार शवको मासु पूर्ण रूपमा नष्ट भइसकेको थियो। मृत शरीरबाट १०–१५ मिटर टाढा टाउको फेला परेको विवरणले घटनालाई थप रहस्यमय बनाएको छ।

घटनास्थलमा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, वडा नं. ३ का अध्यक्ष निखिल बैगार, वडा नं. ६ का वडा सदस्य खुशिराम थारु लगायत जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो। शवलाई भेरी अस्पताल, नेपालगञ्जमा पोष्टमार्टमका लागि पठाइएको छ।

प्रहरीले घटनाको प्रारम्भिक विवरण संकलन गरी थप अनुसन्धान थालेको जानकारी दिएको छ। स्थानीयवासीहरूले वृद्धको मृत्युलाई रहस्यमय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्