
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदमा अवरोध जारी राखेका छन्। आजको प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरू उठेर विरोध जनाउँदै संसद अवरुद्ध गरेका हुन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएसँगै रास्वपा सांसदहरू आआफ्नो स्थानबाट उठेर नाराबाजी गरेका थिए। अवरोधका कारण आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको सभामुख घिमिरेले जानकारी दिए।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। तर रास्वपाको निरन्तरको अवरोधका कारण उक्त कार्यक्रम अगाडि बढ्न सकेन।
बैठकमा रास्वपाका पुरुष सांसदहरू कालो कपडा र निलो रिबन लगाएर उपस्थित भएका थिए। उनीहरूले भ्रष्टाचार विरोधी मुद्दा र नागरिकका पक्षमा उठाइएको आवाजमा सरकारले गम्भीरता नदेखाएको भन्दै संसदमा लगातार अवरोध गर्दै आएका छन्।
रास्वपाले माग सम्बोधन नभएसम्म संसद अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ। सरकार र सत्तारूढ गठबन्धनले वार्ता तथा संवादमार्फत समस्या समाधानको प्रयास गरे पनि सहमति जुट्न सकेको छैन।