News Portal

फोटो खिच्न उद्घाटन, चार दिनमै भासिएको पुलले देखायो लापरबाही

फोटो खिच्न उद्घाटन गरियो, अब तस्बिर होइन, जवाफ चाहिन्छ। हामी कर तिर्छौं, जिम्मेवारी भने कोही लिँदैन।”

जनगर्जन संवाददाता२०८२ आषाढ ८
२५ पटक

कपिलवस्तु, शिवराज । कपिलवस्तुको शिवराज नगरपालिका–११, सेमरीस्थित बेलनदीमा निर्माण गरिएको झुलुङ्गे पुल उद्घाटन भएको चार दिन नबित्दै भासिएको छ। करिब ८३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त पुल सामान्य वर्षा पछि नै प्रयोगविहीन बन्न पुगेको छ, जसले स्थानीय बासिन्दामा आक्रोशको झल्को देखिएको छ।

पुलको मुख्य सिडी (ढलान गरिएको भाग) वर्षाको पानीले बगाएपछि संरचना अस्थिर बनेको र हिँड्न अयोग्य भएको जनाइएको छ। स्थानीयले पुल निर्माणको गुणस्तर र पारदर्शितामाथि प्रश्न उठाएका छन्।

स्थानीय बासिन्दा बृजनारायण चौधरी भन्छन्, “चार दिनमै पुलको यस्तो हालत भयो भने ८३ लाख कहाँ खर्च भयो? कसरी काम गरियो? यो सरासर लापरबाही हो।” उनले स्थानीय सरकार र निर्माण कम्पनीको अनुगमन प्रणालीमा प्रश्न उठाए।

अर्का स्थानीय सन्तोष गुप्ता थप्छन्, “फोटो खिच्न उद्घाटन गरियो, अब तस्बिर होइन, जवाफ चाहिन्छ। हामी कर तिर्छौं, जिम्मेवारी भने कोही लिँदैन।”

शिवराज नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको पुलको ठेक्का एक स्थानीय निर्माण कम्पनीलाई दिइएको थियो। परियोजना निर्माण कार्य केही महिनाअघि सम्पन्न भए पनि हालै मात्र औपचारिक रूपमा उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा नगरप्रमुखसहित विभिन्न जनप्रतिनिधि र अधिकारी सहभागी थिए।

तर उद्घाटनको केही दिनमै पुलको अवस्था जीर्ण भएपछि कार्यक्रम केवल ‘देखावटी’ भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका छन्।

स्थानीय बासिन्दाले तत्काल निर्माण कम्पनी र जिम्मेवार निकायमाथि छानबिन गरी सार्वजनिक रूपमा तथ्य प्रस्तुत गर्न माग गरेका छन्। उनीहरूले प्राविधिक परीक्षण, बजेट विवरण र अनुगमन प्रतिवेदन सार्वजनिक नगरे सरकारले जिम्मेवारी नलिएको ठहर गर्ने चेतावनीसमेत दिएका छन्।

बेलनदीमा भासिएको यो झुलुङ्गे पुलले एकपटक फेरि सरकारी निर्माणमा हुने अनियमितता, लापरबाही र अनुगमनको कमजोरी उजागर गरेको छ। जब करदाताको करोडौं लगानीबाट निर्माण गरिएका संरचना केही दिनमै प्रयोगविहीन बन्छन्, तब जिम्मेवार निकायको उत्तरदायित्व झनै गम्भीर हुन्छ।

प्रतिकृया दिनुहोस्