News Portal

  • माेदी तेस्रोपटक बने भारतको प्रधानमन्त्री

    जनगर्जन संवाददाता२०८१ जेठ २५
    १५४ पटक

    २५ जेष्ठ, काठमाडौं । मोदी तेस्रोपटक भारतकाे प्रधानमन्त्री बन्नुभएकाेछ ।

    टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका नेताहरूले दलको नेताका रूपमा मोदीलाई नियुक्त गरेको जानकारी गराएका हुन्। यसपछि मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट गर्नुभएको थियो ।

    राष्ट्रपति भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै मोदीले आफूलाई राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिनुभयो ।

    ‘मलाई माननीय राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। मैले सम्भवत आइतबार प्रधानमन्त्रीको शपथ ग्रहण हुने जानकारी गराएको छु,’ मोदीका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।

    उहाँले शपथ ग्रहण गर्नुअघि मन्त्रीहरूको नामावली सूची राष्ट्रपतिकहाँ पेस गर्ने जानकारी पनि दिनुभयो ।

    मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्‍द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति गरेका थिए । उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमा थिए ।

    भाजपाले एक्लै बहुमत (२७२) सिट नजितेकोले एनडिएका दलहरूको सहयोगमा मोदीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको थियो।

    मोदीलाई प्रधानमन्त्रीमा १२ सिट जितेको जनता दल (युनाइटेड) र १६ सिट जितेको तेलगु देसम पार्टी (टिडिपी) ले समर्थन गरेको छ।

    प्रतिकृया दिनुहोस्