News Portal

  • काटिएको धानको गाँजबाट पुन: धान फलाउन सफल भए चिनियाँ किसान

    जनगर्जन संवाददाता
    १६० पटक

     

    facebook sharing button
    sharethis sharing button

    बेइजिङ । पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् ।

    रेटुन विधि अपनाएर एक पटक रोपेको धानबाट दुई पटक उत्पादन लिन सकिने बताइएको हो ।  किसानले परम्परागत रूपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ ।

    विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ । जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणका लागि लगाइएको धान खेतमा एक पटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो । माटोको बनावटअनुसार फरक–फरक रूपमा छनोट गरिएको खेतमा विज्ञहरूले परीक्षण गरेका थिए ।

    पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले किसानकाे समय, पैसा बचत गरेको र उत्पादन पनि दोब्बर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेटुन धान सिजनमा दुई पटक काट्न सकिन्छ, जसले किसानकाे समय र पैसाको बचत गर्छ ।’

    जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल एक लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ । प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताउनुभयो ।

    रेटुन एक कृषि विधि हो जसमा लगाइएको बालीमा एक पटक अन्न उत्पादन गरिसकेपछि त्यसको परालको गाँजबाट पुनः उत्पादन लिन सकिनेछ । जस्तै:– उखुको प्रारम्भिक उत्पादन लिएपछि पनि बाँकी रहेको भागबाट पुनः उत्पादन गरिन्छ । यसले समय र श्रमको बचत हुन्छ ।

     

    प्रतिकृया दिनुहोस्