
काठमाण्डु,२९ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज (सोमबार) उपराष्ट्रपतिका उम्मेदवार यादव मत माग्नका लागि भेट्न गएको बेला सभापति देउवाले सो प्रतिबद्धता व्यक्त गरेका हुन ।
सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका साझा उम्मेदवार यादवलाई ३ चैत्र हुने निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै जसपाका नेताहरूले सभापति देउवालाई भेटेका हुन् ।
भेटघाटका क्रममा सभापति देउवाले संघीयता, गणतन्त्र, लोकतन्त्र र देशको हितका निमित्त आफ्नो र आफ्नो दलको सम्पूर्ण मत सत्ता गठबन्धनका साझा उम्मेदवार यादवलाई जाने प्रतिबद्धता व्यक्त गरेको जसपाका नेता प्रदीप यादवले जानकारी दिएका छन ।
उनले देउवासँग देशको वर्तमान राजनीतिक स्थितिलगायत अन्य समसामायिक विषयमा पनि छलफल भएको पनि बताएका छन । उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेवार्ता गरेका थिए ।
उनले आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।