
काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने केही प्रदेशहरूमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागहरूमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसबाहेक गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ ।
रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै राति पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी महाशाखाले दिएको छ ।
सावधानी अपनाउन महाशाखाको आग्रह
भारी वर्षाका कारण पहिरो, बाढी र खोला–नाला बढ्ने सम्भावना भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ । यातायात, कृषि तथा जनजीवनमा असर पर्न सक्ने भएकाले मौसम पूर्वानुमानमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।