
काठमाडौं । आज देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पश्चिमी तथा मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारेको छ भने कोशी प्रदेशमा मनसुनी प्रणाली सक्रिय रहेको बताइएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सफा रहने अनुमान छ। कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने जनाइएको छ।
आज राति पनि कोशी प्रदेशसहित पहाडी भू–भागहरूमा आंशिक बदली रहन सक्नेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै उच्च भू–भागमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।