News Portal

आज ये प्रदेशमा भारी वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

जनगर्जन संवाददाता२०८२ आषाढ १२
३० पटक

काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने तथा मधेश प्रदेशको मौसम मुख्यतया सफा रहने अनुमान छ ।

गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो यी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका केही भू–भागमा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा आज हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिको समयमा देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यससँगै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा अन्य उच्च पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

अत्यधिक वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, यातायातलगायत क्षेत्रमा जोखिम तथा असुविधा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्