News Portal

काठमाडौ बाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

जनगर्जन संवाददाता२०८२ आषाढ २९
३६ पटक

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा आज बिहान भएको बस दुर्घटनामा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको यात्रुबाहक बस आज बिहान करिब ४ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी मोहनमणि अधिकारीका अनुसार बसमा जम्मा ३० जना सवार थिए, जसमध्ये २९ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, २० जनाको मध्यम र ६ जनाको अवस्था सामान्य रहेको छ। सबै घाइतेलाई तत्काल उद्धार गरी चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पताल पुर्‍याइएको र केहीलाई थप उपचारका लागि बुटवल रेफर गरिएको अधिकारीले बताए।

दुर्घटनापछि सडकको एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ भने बस हटाउनका लागि प्रयास जारी छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी, स्थानीय बासिन्दा र एम्बुलेन्समार्फत तत्काल उद्दार कार्य गरिएको थियो। घाइतेहरूको उपचारमा कुनै ढिलाइ नगरिएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्