
काठमाडौ । बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ भन्दा बढी घाइते भएका छन्। भारतीय सेनाले पाकिस्तानमा रहेका आतंकवादी प्रशिक्षण शिविरलाई लक्षित गर्दै आक्रमण गरेको दाबी गरेको छ।
चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई “खेदजनक” भनेको छ। मन्त्रालयले भारत–पाकिस्तान दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
“चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दु:खद मानेको छ। हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ। चीनले भारत र पाकिस्तान दुवै देश आफूका छिमेकी भएको उल्लेख गर्दै, सबै प्रकारका आतंकवादको विरोध गर्ने स्पष्ट पारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत–पाकिस्तानबीचको हिंसात्मक घटनाक्रम चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। “मैले आक्रमणबारे भर्खरै सुनेँ… मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ,” ट्रम्पले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भनेका थिए। यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रूबिओले अमेरिका स्थिति नजिकबाट नियालीरहेको बताएका छन्।
कश्मिरमा तीन भारतीयको मृत्यु
भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि कश्मिरस्थित भारत–पाकिस्तान सीमामा पाकिस्तानी सेनाको गोलीबारीबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ। रोयटर्सका अनुसार मृतकबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
पाकिस्तानमा ८ को मृत्यु, ५ भारतीय लडाकु विमान खसालेको दाबी
भारतको मिसाइल आक्रमणमा परी पाकिस्तानमा कम्तीमा ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ। भारतले भने आक्रमण ९ वटा आतंकवादी स्थानहरूसम्म सीमित रहेको जनाएको छ।
पाकिस्तानको सेनाले भारतका ५ वटा लडाकु विमान खसालेको दाबीसमेत गरेको छ। तीमध्ये तीन फ्रान्समा बनेका राफेल र दुई रुसमा निर्मित लडाकु जहाज रहेको बताइएको छ। भारतले हालसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यदि पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौँपछिको सबैभन्दा ठूलो क्षति हुनेछ।