News Portal

  • नवौं महाधिवेशनलाई उत्सवको रुपमा मनाऔँ

    लेखक बिबेक लामा
    ४४१ पटक

    नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन जति नजिकिदै छ त्यति नै जनविरोधी शक्तिहरुको ध्यान त्यतै केन्द्रित भएको छ भने क्रान्ति र परिवर्तनका पक्षधरहरु महाधिवेशनले गर्ने निर्णयको व्यग्र प्रतिक्षामा छ | आठौं महाधिवेशनले लिएको ऐतिहासिक निर्णयहरु नेपालको मात्र नभई विश्व कम्युनिस्ट आन्दोलनलाई समेत टेवा पुग्ने आंकलन बजारमा सुन्न सकिन्छ | आठौं महाधिवेशनले गरेको संश्लेषणले देशीय प्रतिक्रियावादीहरु र अन्तर्राष्ट्रिय साम्राज्यवादीहरु समेतको क्याम्पमा भूकम्प गएको अनुमान लगाउन सकिन्छ | थबाङ महाधिवेशनले मार्क्सको बिचारलाई समेत विकास गरेको थियो। “संसारलाई बुझ्नु, ब्याख्या गर्नु मुख्य कुरा होइन, बदल्नु चाही मुख्य कुरा हो” भनेर मार्क्सले भनेका थिए, त्यसमा आठौं महाधिवेशनले बदलेको चिजलाई रक्षा गर्नु मुख्य कुरा हो भनेर संश्लेषण गरेको थियो | यो सश्लेषणले नेपालका कम्युनिस्टको खोल ओढेका कम्युनिस्टहरुले बिभिन्न आरोप लगाए, इतिहासलाई बङ्ग्याउन खोजे, मार्क्स, लेनिन, स्टालिन र माओ भन्दा यिनी पो जान्ने भए भन्दै सत्तोसराप गरे |

    आठौं महाधिवेशनले सश्लेषण गरेको मुख्य विषय कार्यदिशा थियो | कार्यदिशाको विषयमा यहाँ धेरै चर्चा गरिरहनु जरुरत देख्दिन | माओले भन्नु भए जस्तै “कार्यदिशा सहि भयो भने नभएको चिज पनि प्राप्त हुन्छ, कार्यदिशा गलत भयो भने भएको चिज सबै गुम्छ |” त्यसैले हरेक चिजको विकास गर्न र गतिशील बनाउन कार्यदिशाको आवश्यकता हुन्छ | झन् क्रान्तिकारी पार्टीमा त अपरिहार्य नै हो | क्रान्तिकारी पार्टीको लागि कार्यदिशा मान्छेको जीवनमा मुटुको जति आवश्यक हुन्छ कम्युनिस्ट पार्टीको लागि पनि कार्यदिशा त्यति नै आवश्यक हुन्छ | त्यहि आवश्यकतालाई बोध गर्दै “एकीकृत जनक्रान्ति” लाई आठौं महाधिवेशनले सर्वसम्मत पारित गरियो | त्यहि एकीकृत जनक्रान्तिलाई व्यवहारमा लागु गर्न खोज्दा १२ जना होनहार योद्धाहरुको समेत ज्यान गयो |

    महाधिवेशन भनेको कम्युनिस्ट पार्टीको उच्चतम निकाय हो | महाधिवेशनले गर्ने छलफल र निर्णयबाट नै पार्टीको नीति, नियम, कार्यक्रम, र बिधान बन्छ। त्यसैको जगमा टेकेर पार्टीको काम कारबाही अगाडी बढ्छ | महाधिवेशन कुनै औपचारिकता पुरा गर्ने कार्यक्रम मात्र होइन, महाधिवेशनले देशको चित्र कोरेको हुन्छ, जनताको समस्यासंग एकाकार भएको हुन्छ | अन्तर्राष्ट्रिय परिस्थितिलाई नजिकबाट नियालेको हुन्छ | राष्ट्रमाथि बाह्यशक्तिको हस्तक्षेपको बिषयमा शसक्त ढंगले प्रतिरोध गर्न सक्ने नीति बनाउनु पर्ने हुन्छ | पार्टी र क्रान्तिलाई कसरि गतिशील बनाउने भन्ने कुरा जोडेको हुन्छ | महाधिवेशनमा सुधारवाद, दक्षिणपन्थी अवसरवाद, आत्मरक्षावाद र संसोधनवादको गन्ध पनि आइरहेको हुन्छ, त्यसलाई कसरी परास्त गर्ने भन्ने कुरा पनि जोडेको हुन्छ | अन्य कम्युनिस्ट नाम धारीहरुको महाधिवेशन पनि हेरे, जनताले पनि हेरिरहेकै छ | केहि समय अगाडी एमाले नामको पार्टीको महाधिवेशन पनि देखेकै हो | नारायणी नदि किनारमा देशैभरबाट सोझासिधा निमुखा जनतालाई बोलाएर कुम्भ मेला गरे, न त्यहाँ बिचारको बहस भयो, न राष्ट्रियता माथि भएको खतरामाथि नै छलफल भयो, मात्र उसका विरोधीलाई इन्काउन्टर दिने तरिकाको मात्र देखियो | हुनत यिनीहरुले गर्ने नै यहि हो | त्यसैगरी माओवादी नामको पार्टीको महाधिवेशन पनि देखियो | त्यसमा पनि बिचारको बहस भएन, पद भाग बण्डामै वादविवाद भएपछी त्यो पनि त्यतिकै सेलायो | अहिलेसम्म पार्टीको महत्वपूर्ण पद महासचिव नै तोक्न नसकेर गाइजात्रा भैरहेको छ | यसर्थ नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन यस्तो तमासा देखाउने खालको नहोस्, जनताको समस्या र राष्ट्रको समस्यामाथि केन्द्रित भएर छलफल बहस चलोस्, केन्द्रीयता र जनवादलाई संगसंगै लैजाने प्रयत्न गरोस् | पार्टीभित्र हुर्कदै गएको नव धनाढ्य र सम्भ्रान्त बर्गलाई समाप्त गर्दै पार्टी सर्वहारा वर्गको आशालाग्दो पार्टी बनोस्, सबैखाले अवसरवाद र सुधारवादबाट पार्टी मुक्त बनोस् | प्रतिक्रान्तिको घेरा तोड्दै पार्टीलाई क्रान्तिकारी दिशामा अघि बढ्ने नीति निर्माण गरोस् | निषेधको निषेध होइन, उसको गुण हेरेर, व्यबहार हेरेर उसको मुल्यांकन गर्ने बिधान बनोस् | नव संसोधनवादको खतराबाट पार्टीलाई बचाउने नियम बनोस् |

    नेपालको कम्युनिस्ट आन्दोलनको समिक्षा गर्दै बिगतमा भएका कमिकमजोरीबाट पाठ सिक्दै आउने दिनमा कम्युनिस्टको गुण झल्काउने कार्यक्रम ल्याओस भन्ने छोटो सुझाव सहित दस वर्षे जनयुद्ध, एकीकृत जनक्रान्ति लगायत बिभिन्न काल खण्डमा भएका आन्दोलनमा उच्च सहादत प्राप्त गर्नुभएका महान सहिदहरुको अधुरो सपनालाई नवौं महाधिवेशनले पुरा गर्ने संकल्प गरोस् , नवौं महाधिवेशनले जनतालाई चाहिएको वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने वातावरण बनोस्, नवौं महाधिवेशन भव्य र सभ्य ढंगले सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु |

     

    प्रतिकृया दिनुहोस्