
काठमाडौँ–तराई फास्ट ट्र्याकको ४१ प्रतिशत भौतिक प्रगति: रक्षामन्त्री राई
काठमाडौं, असार ९ –
रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिएका छन्।
सोमबार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले अबको केही महिनाभित्रै यसमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरे। उनका अनुसार उपत्यका बाहिर तराईका जिल्लामा फास्ट ट्र्याकका लागि आवश्यक सबै जमिन अधिग्रहणको प्रक्रिया सम्पन्न भइसकेको छ।
राईले भने, “काठमाडौं–तराई मधेस फास्ट ट्र्याकको करिब ४१ प्रतिशत काम सम्पन्न भइसकेको छ। अबका केही महिनामा उल्लेखनीय प्रगति हुने अपेक्षा छ। तराई क्षेत्रका सबै जमिन अधिग्रहण भइसकेको हुँदा जमिनसम्बन्धी कुनै विवाद बाँकी छैन।”
सरकारले २०७४ सालमा यो परियोजनाको जिम्मा नेपाली सेनालाई दिएको थियो। आठ वर्ष बितिसक्दा पनि हालसम्म ४१ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।