News Portal

एमसीसी परियोजना पुनः सुरु गर्ने निर्णयप्रति नेकपाको विरोध

साउन ३० गते देशभर प्रदर्शनको आह्वान

जनगर्जन संवाददाता२०८२ साउन १९
९८ पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) पुनः सुरु गर्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ। पार्टीको केन्द्रीय समिति अन्तर्गतको एमसीसी सरोकार समिति संयोजक भरत सीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले केही महिना अघि स्थगित गरेको एमसीसी परियोजना पुनः सुरु गर्ने निर्णयलाई गम्भीर र आपत्तिजनक भन्दै विरोध जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी यो अमेरिकी साम्राज्यवादको गलत नीति र निर्णयको विरोध गर्छौं। एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन्।”

पार्टीले एमसीसीको ‘देशघाती र न्यायविहीन’ पक्षबारे चेतावनी दिँदै परियोजनालाई जनसमर्थनबिनै पुनः सञ्चालन गर्न खोजिएको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “एमसीसी बिनाको परिमार्जन स्वीकार्य छैन। यसको लाद्दु प्रयास प्रतिगामी षड्यन्त्र हो।”

एमसीसीको विरोधलाई अझ व्यापक बनाउने तयारीमा रहेको नेकपाले साउन ३० गते देशभरका मुख्य शहरहरूमा जनप्रदर्शन गर्ने बताएको छ। उक्त जनप्रदर्शनलाई सफल पार्न सम्पूर्ण सचेत नागरिकलाई विशेष अपिल गरिएको छ।

नेकपाले देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतान्त्रिक शक्तिहरूलाई एमसीसी विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्