News Portal

लिपुलेकमार्फत भारत–चीन व्यापार गर्ने सहमति खारेजीको माग, नेकपाको घोर आपत्ति

जनगर्जन संवाददाता२०८२ भाद्र ५
७५ पटक

काठमाडौं, भदौ ५ । चीनका विदेश मन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरसँग भएको वार्तामा १२ बुँदे सहमति भएको छ । सो सहमतिको ९ नम्बर बुँदामा नेपाली भूमि लिपुलेक पास, शिम्किला पास र नाथुला पासमार्फत सिमापार व्यापार पुनः सुरु गर्ने प्रावधान राखिएकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ ।

बिहिबार प्रवक्ता प्रकाण्ड सीको हस्ताक्षरसहित जारी गरिएको प्रेस विज्ञप्तिमा नेकपाले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डतामाथि आघात पु¥याउने गरी भारत–चीनबीच भएको सहमति अन्यायपूर्ण, हस्तक्षेपकारी र राष्ट्रघाती भएको ठहर गरेको छ ।

“नेपाल र नेपाली जनतालाई कुनै जानकारी नदिई दुई देशले लिपुलेकमार्फत व्यापारको सहमति गर्नु अहंकार, हस्तक्षेपकारी तथा अतिक्रमणकारी प्रवृत्तिको परिचायक हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपाले चीन र भारत सरकारलाई सो सहमति तत्काल खारेज गर्न विशेष अपिल गरेको छ भने नेपाल सरकारलाई पनि राष्ट्रघाती सहमतिको विरुद्ध तदारुकताका साथ पहल गर्न जोडदार माग गरेको छ ।

प्रतिकृया दिनुहोस्