News Portal

सिभिल अस्पतालमा प्रसूति दुःखान्त : आमा–शिशु दुबैको मृत्यु, परिवार ‘निष्पक्ष छानबिन’को खोजीमा

परिवारको आरोप– ‘जबरजस्ती प्रसव, ढाकछोप र धम्की’

जनगर्जन संवाददाता२०८२ साउन २६
८१ पटक

काठमाडौं । दैलेखका स्वास्थ्यकर्मी दीपककुमार नेपाली र उनकी पत्नी लक्ष्मीकुमारी नेपाली तेस्रो सन्तानको आगमनको खुशीमा थिए। नियमित गर्भ परीक्षण हुँदै आएको राजधानीको प्रतिष्ठित निजामती कर्मचारी (सिभिल) अस्पताल रोजिएको थियो। तर, असार ९ गतेको अस्पताल भर्ना र भोलिपल्टको डेलिभरी, परिवारको लागि जीवनकै सबैभन्दा ठूलो शोक बन्यो।

लक्ष्मी बिहान ८ बजे नर्मल डेलिभरीबाट बच्चा जन्माइन्। श्रीमान् दीपक दैलेखमै कार्यरत थिए, भाइ बुहारी अस्पतालमा सँगै थिए। जन्मको खबरसँगै खुशीको आँसु बगिरहेको थियो, तर केही मिनेटमै अर्को खबर आयो—‘उच्च रक्तस्राव भयो।’

‘बी नेगेटिभ’ दुर्लभ रक्तसमूह भएकाले दीपकले पहिले नै दुई पिन्ट रगत संकलन गरेका थिए, परिवारले थप चार पिन्ट जुटायो। उपचारमा डा. सिर्जना र डा. पुनमको टोली संलग्न थियो। बिहान पौने ११ बजे ‘पाठेघर फाल्नुपर्ने’ भनिएपछि दीपकले आँसु पुछ्दै सहमति जनाए। दिउँसो साढे १२ बजे ‘अप्रेशन सफल’ भएको जानकारी दिइयो, तर लक्ष्मीलाई भेट्न दिइएन। साँझ ५ बजे अस्पतालले मृत्युको सूचना दियो।

अस्पतालको प्रतिवेदन — दुर्लभ चिकित्सकीय समस्या

असार ११ गतेको दुई बुँदे सहमतिअनुसार, अस्पतालले एक हप्तामै आन्तरिक छानबिन प्रतिवेदन बुझायो। प्रतिवेदनमा लक्ष्मीमा गर्भकालीन मधुमेह, नेगेटिभ रक्तसमूह र बच्चा खेल्ने पानीको मात्रा बढी हुने जस्ता जोखिम थिए। डेलिभरीपछि ‘सर्भिकल टियर’ र अत्यधिक रक्तस्राव देखिएको उल्लेख छ।

मृत्युको कारण ‘एम्नियोटिक फ्लुइड एम्बोलिजम’ ठहर गरिएको छ—एक दुर्लभ अवस्था, जसमा बच्चा खेल्ने पानी आमाको रक्तनलीमा पस्दा रगत जम्ने प्रक्रिया अवरुद्ध भई अनियन्त्रित रक्तस्राव हुन्छ। अस्पताल निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मी भन्छन्, “सबै प्रयास गर्‍यौँ, तर बचाउन सकेनौँ।”

मानवीय आधारमा मृतकको उपचार खर्च मिनाहा गरिएको र तीनै सन्तानलाई १२ कक्षासम्म निःशुल्क आवासीय शिक्षा प्रस्ताव गर्ने सहमति भएको थियो ।

शिशुको पनि एक महिनापछि मृत्यु

आमाको मृत्युपछि नवजात शिशु एनआईसीयूमा राखिएको थियो। साउन १० गते, करिब एक महिनापछि, शिशुको पनि मृत्यु भयो। अस्पतालले पत्र र फोनमार्फत दीपकलाई शव बुझ्न बोलायो।

तर, दीपकको आशंका छ—“बच्चाको मृत्यु पहिले नै भएको थियो, तर एक महिनासम्म भेन्टिलेटरमा राखेर ढिलो घोषणा गरियो।”

पिडित परिवार निष्पक्ष छानबिनको तयारीमा

पीडित परिवारले असार ११ गतेको सहमति पछि पनि सन्तुष्टि पाएको छैन। दीपक भन्छन्, “आमाको मृत्यु उच्च रक्तस्रावले भयो होला, तर बच्चाको किन भयो ? जबसम्म निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुँदैन, म बच्चाको शव बुझ्दिनँ।”
भक्तपुरको नयाँ ठिमीमा दुई छोरालाई पढाउँदै आएकी लक्ष्मी र नवजात शिशु अब सम्झनामा मात्र छन्। आमा र भाइ गुमाएका ती नानीहरू अझै आमा खोजिरहेका छन्,भने पिता दीपक सत्य र न्यायको खोजीमा।

प्रतिकृया दिनुहोस्