News Portal

  • भक्तपुरमा २० देखि २२ निर्वाचनस्थल व्यावहारिक नभएको भन्दै अन्यत्र सार्न सुझाव

    जनगर्जन संवाददाता
    ५४० पटक

    २७ बैशाख, काठमाण्डौं   बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि भक्तपुरमा भने हाल कायम रहेका मतदानस्थलहरु व्यवहारिक नभएको सम्बन्धित निकायहरूले बताएका छन् । स्थानीय तहको निर्वाचन आउन अब ३ दिन मात्र बाँकी रहेको छ ।

    जिल्लाका प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार जिल्लामा हाल कायम रहेका केही मतदान स्थल सार्नु पर्ने देखिएका हुन् । उनका अनुसार २० देखि २२ स्थलहरू हाल कायम रहेका स्थानबाट अन्यत्र सार्नु पर्ने देखिन्छन् । बास्तोलाले भने ‘विद्यालय, स्वास्थ्य चौकी, पोखरीको छेउमा रहेका मतदान स्थल साँघुरो भएकाले अहिलेको अवस्थामा व्यवहारिक भएनन् । ’ मतदाताको सङ्ख्या बढ्ता समस्या देखिएको मुख्य निर्वाचन अधिकृत बास्तोलाले बताए । कतिपय विद्यालयको चौर एकातिर भवन अर्कोतिर फर्किएको छ, कहीँ पोखरीको किनारमा छ, कहीँ निकै सानो ठाउँ भएकाले ती स्थलहरू परिवर्तन गर्नु पर्ने सुझाव आएको उनले बताए ।

    २०४८ सालमा २ सय मतदाता रहेको स्थानमा अहिले ६ हजार बढी मतदाता भइसकेकाले पनि स्थान साँघुरो र अव्यवहारिक भएको जिल्लाका सम्बन्धित निकायहरू बताउँछन् । भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ । स्थानीय निर्वाचनका लागि भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४, अन्य ५ जना गरी कुल एक लाख ८९ हजार ५८४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।

    त्यसैगरी भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले मतदान स्थल परिर्वतनको लागि आएको सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायमा पठाउने बताइन् । ‘यो पटकको निर्वाचनमा सम्भव भएन, अर्को निर्वाचनको लागि हामीले सुझाव दिएर पठाउने छौँ,’ शर्माले भनिन् । खुल्ला ठाउँ पालको व्यवस्था गरेर निर्वाचनको दिन सहज बनाउन, मतपेटिका, मतपत्र सुरक्षित राख्न आवश्यक सबै प्रक्रिया गर्न सबैको निर्देशन दिइसकेको उनले बताइन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार जिल्लामा सर्वदलीय बैठक गरेर केन्द्रीय निर्वाचन आयोगमा पठाउनु पर्दछ । त्यसपछि सुरक्षा संयन्त्रले सार्न सुरक्षाको दृष्टिकोणले उचित छ भन्ने राय दिएमा ती स्थलहरू अन्यत्र सार्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्