News Portal

नेकपा (एकीकृत समाजवादी) ले जनताको मागलाई लिएर देशभर शान्तिपूर्ण आन्दोलन सुरु

जनगर्जन संवाददाता२०८२ जेठ १६
१६ पटक

नेकपा (एकीकृत समाजवादी) ले जनताको मागलाई लिएर देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। कोहलपुर–११ स्थित ट्री टप रेस्टुरेन्ट एन्ड कफी हाउसमा आयोजित पत्रकार भेटघाटमा पार्टीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खानले यस्तो जानकारी दिनुभएको हो।

प्रदेश अध्यक्ष खानका अनुसार अब पार्टीले सबै वडास्तरमा जनताका मागसहित ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ। “हामी शान्तिपूर्ण तरिकाले आन्दोलन अगाडि बढाउनेछौं। जनताको आवश्यकतालाई मुख्य एजेन्डा बनाएर अब वडावडामा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिनेछ,” खानले बताउनुभयो।

साथै, पार्टीले देशभरका संघसंस्था, व्यवसायी, युवाहरू, मजदुर, किसानलगायत विभिन्न समूहसँग अन्तरक्रिया गर्ने घोषणा पनि गरेको छ। “हामी अब देशव्यापी संवादमा उत्रनेछौं,” उहाँले भन्नुभयो।

स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अब कुनै पनि गठबन्धन वा सहनिर्भरता बिना एक्लै निर्वाचनमा जान तयार रहेको स्पष्ट पार्नुभयो। “मिशन ०८४ हैन, हाम्रो लागि हरेक दिन मिशन हो,” झाँक्रीले भन्नुभयो।

पार्टीले हालै देशभरका स्थानीय तहमा सुशासन, रोजगारी र समाजवादको तयारी भन्ने नारासहित ध्यानाकर्षण पत्र बुझाइसकेको जानकारी दिइएको छ। झाँक्रीले थप भनिन्, “हाम्रो पार्टी सानो देखिन सक्छ तर विचार र दिशा ठूला छन्। हामी कुनै पार्टीको विलय होइन, बलियो बिचारसहितको वैकल्पिक शक्तिका रूपमा अगाडि बढिरहेका छौं।”

प्रतिकृया दिनुहोस्