News Portal

भारत-पाकिस्तान सीमामा चर्किएको तनाव

"ड्रोन आक्रमण, एफ-१६ खसालियो, सीमामा ब्ल्याकआउट र आईपीएल स्थगित"

जनगर्जन संवाददाता२०८२ बैशाख २५
१८ पटक

भारत र पाकिस्तानबीचको सम्बन्ध फेरि एकपटक तनावपूर्ण अवस्थामा पुगेको छ, जसले सीमावर्ती क्षेत्रहरूमा तनाव चरम सीमामा पु¥याएको छ। पाकिस्तानले कश्मीर, राजस्थान र पञ्जाब सीमाक्षेत्रहरूमा ड्रोनमार्फत गरिरहेका आक्रमणहरूलाई भारतले आफ्नो एस–४०० वायु रक्षा प्रणाली प्रयोग गरी नाकाम बनाएको दाबी भारतीय सञ्चार माध्यमहरूले गरेका छन्।

यसबीच, जम्मु क्षेत्रमा पाकिस्तानको एक एफ–१६ लडाकु विमान खसालिएको खबर सार्वजनिक भएपछि स्थिति थप चर्किएको छ। सीमासँग सटिएको जम्मु, साम्बा, पठानकोट, आरएसपुरा, जैसलमेर, भुज र अमृतसर जस्ता क्षेत्रमा व्यापक विस्फोटको आवाज सुन्न थालिएपछि सर्वसाधारणबीच त्रास बढेको छ।

सुरक्षाको दृष्टिले भारतले सीमावर्ती क्षेत्रमा पूर्ण ब्ल्याकआउट लागू गर्दै नागरिकहरूलाई घरभित्रै बत्ती निभाएर सतर्क बस्न निर्देशन दिएको छ। जम्मु, किश्तवाड, श्रीगंगानगर र पञ्जाबको जालन्धर लगायतका क्षेत्रमा रातभर अँध्यारोमा सतर्कता अपनाइएको छ।

युद्धको सम्भावनाबीच क्रिकेटप्रेमीहरूका लागि अर्को झट्का पनि परेको छ। धर्मशालामा भइरहेको आईपीएल खेल आकस्मिक रूपमा रोकिएको छ। सुरक्षाकर्मीहरूले घोषणा गर्दै दर्शकहरूलाई तुरुन्त स्टेडियम खाली गर्न भनेका थिए। खेल स्थगित भएपछि समर्थकहरूलाई सुरक्षित रूपमा घर फर्काइएको छ।

यसबीच, विदेश सचिव विक्रम मिस्रीले पाँहलगाम आक्रमणलाई भारतविरुद्धको ‘ठूलो उक्साहट’ को संज्ञा दिँदै भारतले संयमित तर कडा जवाफ दिइरहेको बताएका छन्। भारतीय वायुसेनाको सिफारिसमा होशियारपुर जिल्लामा अनिश्चितकालीन ब्ल्याकआउटको घोषणा गरिएको छ।

स्थिति जटिल बन्दै जाँदा दुबै देशले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्। विश्लेषकहरूले भने वार्ताबाटै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्