
१४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएकी छन्।
शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको राजीनामा आवश्यक भएको बताइन्। “तपाईंमा नैतिकता छ भने राजीनामा दिनुस्,” उनले भनिन्, “सरकारलाई निष्पक्ष छानबिनमा सघाउनुहोस्, नेपाली जनतालाई भिजिट भिसा प्रकरणबाट मुक्त गर्न सहयोग गर्नुहोस्।”
उनले गृहमन्त्री लेखकमाथि गम्भीर आरोप पनि लगाइन्। कार्कीका अनुसार भिजिट भिसाको नाममा गृहमन्त्रीले दैनिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म असुली गरेको दाबी गरिन्। “गृहमन्त्रीले जनतालाई भिजिट भिसाको नाममा बेचेका छन्,” उनले आरोप लगाइन्।
सांसद कार्कीले सरकारलाई चेतावनी दिँदै भनिन्, “गृहमन्त्रीज्यू धेरै फुर्ती नदेखाउनुस्। किनभने एक दिन सबैलाई प्रतिपक्षमा आउनुपर्छ। त्यतिखेर जनतालाई जवाफ दिन सक्नुपर्छ।”
भिजिट भिसा प्रकरणमा गम्भीर आरोप र संसदमा भइरहेका बहसलाई लिएर उनले छानबिन निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिएकी छन्।