News Portal

अर्थ रूपान्तरणका लागि उत्पादनमुखी पुँजीमा जोड दिइएको : प्रचण्ड

जनगर्जन संवाददाता२०८२ आषाढ १४
२० पटक

काठमाडौं, असार १४ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक रूपान्तरणका लागि उत्पादनमुखी राष्ट्रिय पुँजी प्रवर्द्धनमा जोड दिइएको बताएका छन्।

नेपाल उद्योग व्यापार महासङ्घको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारको नेतृत्वमा रहँदा उत्पादन र पूर्वाधार केन्द्रित योजनाहरू ल्याएर दीर्घकालीन आर्थिक परिवर्तनको जग तयार गरिएको उल्लेख गरे।

“अर्थतन्त्र रूपान्तरणको लागि हामीले उत्पादनमुखी पुँजीमा जोड दिएका छौं,” अध्यक्ष दाहालले भने, “हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूले देशको भौगोलिक तथा आर्थिक पहुँच विस्तारमा ठोस योगदान पुर्‍याएका छन्।”

उनले रुकुम, बागलुङ लगायतका जिल्लाहरूमा ती पूर्वाधारले ल्याएको परिवर्तन अब देखिन थालेको उल्लेख गर्दै आठवटा उत्तरी नाका खोल्ने निर्णयबाट चीनसँगको व्यापार विस्तार र एकतर्फी निर्भरता कम भएको धारणा राखे।

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण निर्माणको खाँचो औंल्याए। महासङ्घका समूह प्रमुख गङ्गा कार्कीले निजी क्षेत्रको भूमिकालाई सकारात्मक रूपमा उपयोग गर्दै उद्योग व्यवसायमैत्री नीतिहरू अवलम्बन गर्नुपर्ने बताए।

अध्यक्ष दाहालले पार्टीको भावी दिशा आर्थिक स्वावलम्बन, राष्ट्रिय उत्पादन विस्तार र निजी क्षेत्रसँग सहकार्यमा केन्द्रित हुने स्पष्ट पारे। “राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धि हाम्रो अभियान हो,” उनले जोड दिए।

प्रतिकृया दिनुहोस्