
काठमाडौं । अमेरिका सरकारले अध्यागमन कानुन उल्लंघन गरी बसोबास गरिरहेका झन्डै ५० जना नेपाली नागरिकलाई आज विशेष चार्टर्ड विमानमार्फत नेपाल फर्काउँदैछ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार डिपोर्ट गरिएका नेपालीहरू आज दिउँसो ४ बजेतिर बंगलादेशको ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्ने छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार विशेष चार्टर्ड जहाजमा ल्याइएका ती नेपालीलाई काठमाडौंमा झारेर जहाज भारतको नयाँ दिल्ली फर्किनेछ।
काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिनअघि डिपोर्ट प्रक्रियामा रहेका नेपालीहरूको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको थियो। अमेरिकी अध्यागमन कानुन उल्लंघनको आरोपमा पछिल्लो समय दर्जनौं नेपालीहरू निष्कासित हुँदै आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिपछि गैरकानुनी रूपमा अमेरिका बसिरहेका नेपालीहरूलाई क्रमशः डिपोर्ट गर्ने प्रक्रिया तीव्र बनाइएको हो। यसअघि साना समूहमा ८ देखि १० जना नेपालीलाई समयसमयमा निष्कासित गरिंदै आएकोमा यसपटकको संख्यालाई तुलनात्मक रूपमा ठूलो मानिएको छ। दुई साता अघि मात्रै ९ जना नेपालीलाई अमेरिका सरकारले निष्कासित गरेको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार ट्रम्प प्रशासनको कार्यकालदेखि हालसम्म करिब १५० जना नेपालीहरू अमेरिका बाट डिपोर्ट भइसकेका छन्। निष्कासित नेपालीहरूलाई त्रिभुवन विमानस्थलमा अध्यागमन विभागमार्फत नेपाल प्रहरीको जिम्मामा लगाउने प्रचलन छ।
यसैबीच, राष्ट्रपति ट्रम्पले सुरक्षाका कारण देखाउँदै १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन्। अफगानिस्तान, चाड, इरान, लिबिया, सोमालिया, यमनजस्ता मुलुकका नागरिकहरू पूर्ण प्रतिबन्धमा परेका हुन् भने अन्य सात देशका नागरिकहरूमाथि कडा प्रतिबन्ध लगाइएको छ।
ट्रम्पले अमेरिकी राष्ट्रिय सुरक्षाको रक्षा गर्नका लागि हानिकारक तत्वहरूलाई प्रवेश नदिनु आवश्यक रहेको बताएका छन्।