News Portal

  • नेकपा मकवानपुरको ७ औं पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

    जनगर्जन २०८१ जेठ ४
    १०० पटक

    बैशाक ४ काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको ७ औं पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । हेटौंडा-१, जरुवाटोलस्थित पार्टी कार्यलयमा बसेको बैठकले अघिल्लो ६ महिने आवधिक योजनाको समीक्षा तथा पछिल्लो ६ महिने आवधिक योजना तय गरेको छ ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको अध्यक्षतामा बसेको बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यता रहेको छ । त्यस्तै वैकल्पिक केन्द्रिय सदस्य तथा सामना परिवारका इन्चार्ज आरोह सी, वैकल्पिक केन्द्रिय सदस्य तथा केन्द्रिय उत्पादन विभाग मकवानपुर शाखा संयोजक मिङ्मार सीको आतिथ्यता रहेको छ ।

    साविकको पार्टी संरचना अनुसार नेकपा दक्षिण-पूर्व मकवानपुरका इन्चार्ज राम सी, सेक्रेटरी विवेक सी, उत्तर-पश्चिम मकवानपुरका इन्चार्ज सुर्य सी, सेक्रेटरी गुण सी र डिवान जिल्ला इन्चार्ज मिङमार सी, सेक्रेटरी शितल सी सहितको तीन वटा सहायक जिल्लालाई एउटै जिल्ला संरचनामा कायम गर्ने पार्टीको पछिल्लो निर्णय अनुसार नेकपा मकवानपुरको ७ औं पूर्ण बैठक बसेको हो । छुट्टाछुट्टै रुपमा आ-आफ्नो अस्तित्व कायम गरेका पार्टी संरचना एउटै जिल्ला संरचनामा जाने भएपछि प्रत्येक जिल्लाका मुख्य नेतृत्वको जिम्मेवारी हेरफेर भएको छ । जिम्मेवारी हेरफेर पश्चात् नेकपा मकवानपुरको जिल्ला इन्चार्जमा राम सी र सेक्रेटरीमा सुर्य सी रहेका छन् ।

    यसैगरी मकवानपुरका १० वटै पालिकामा जिम्मेवारी बाँडफाँड गरिएको छ । जस अनुसार हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवेक सी, थाहा नगरपालिका इन्चार्ज सुर्य सी र सेक्रेटरीमा रमेश सी रहेका छन् । त्यस्तै मनहरी गाउँपालिका इन्चार्ज मिङमार सी, सेक्रेटरी गुण सी, राक्सिराङ इन्चार्ज समाज सी, सेक्रेटरी अनिल सी, कैलाश गाउँपालिका सेक्रेटरी विजय सी रहेका छन् । त्यसैगरी भिमफेदी गाउपालिका इन्चार्ज सुशीला सी, बकैया गाउँपालिका इन्चार्ज मोहन सी, सेक्रेटरी रामजी सी र बागमती गाउँपालिका इन्चार्ज साजन सी रहेका छन् । गढी गाउँपालिका र इन्द्र सरोवर गाउँपालिकालाई कार्यलयले हेर्ने निर्णय भएको छ ।

    पार्टी केन्द्रको ६ महिने आवधिक योजना कार्यन्वयनका लागि जिल्ला पार्टीले जिम्मेवारी बाँडफाँड गरिएको हो । त्यस्तै आत्मनिर्भर पार्टी कार्यकर्ता र आत्मनिर्भर देश बनाउने पार्टीको उद्देश्य अनुरुप नेकपा मकवानपुरले आगामी दिनमा एक बिगाहा जमिनमा सामुहिक उत्पादन गर्ने निर्णय गरेको छ । साथै सामुहिक लगानीमा सी शैलुन सन्चालनमा ल्याउने निर्णय पनि गरेको छ ।

    त्यसैगरी पार्टी केन्द्रको निर्णय अनुसार काठमाडौंमा यहि जेठ ७ गते हुने ‘विश्वशान्तिका लागि समाजवाद’ कार्यक्रमको तयारी, १० गते हुने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको जिल्ला सम्मेलन तथा जेठ १५ गते चितवनमा हुने राष्ट्रिय सम्मेलनको तयारीमा जुट्ने निर्णय पनि गरेको छ ।

    यसैगरी बैठकले पछिल्लो समयमा मकवानपुर जिल्लामा रहेका एउटै मात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाप्न खोजिएको षड्यन्त्रको विरुद्ध सशक्त तरिकाले संघर्ष गर्ने निर्णय गरेको छ । जसको विरुद्ध समाजवादी मोर्चासहित विभिन्न आठ दलले पनि संयुक्त विरोध गर्ने तयारी गरेको छ । मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पताल जीवित राख्नका लागि विरोध गर्नुका कारणहरु :

    १) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्वन्धमा व्यवस्था गर्न बनेको ऐनको परिच्छेद-६ को दफा १५ को उपदफा १ मा अस्पतालको स्थापना गर्नेछ भनिएकोमा सोही दफाको उपदफा २ प्रयोग गरि उपदफा १ बमोजिम स्थापना भएको मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालको ६४ वर्षको इतिहास मेटाउन खोज्नु

    २) प्रतिष्ठानको ऐनको परिच्छेद-२ को दफा ४ को उपदफा ३ बमोजिम प्रतिष्ठानले व्यक्ति सरह चल, अचल सम्पति उपभोग गर्न र बेचविखन गर्न सक्ने भनी गलत व्यवस्था गर्नु

    ४) प्रतिष्ठान अन्तर्गत अस्पताल रहँदा जिल्लामा निशुल्क खोप, निशुल्क प्रसुति सेवा, निशुल्क औषधी, निशुल्क स्वास्थ्य सेवा जस्ता अत्यावश्यक सरकारी स्वास्थ्य सेवाका कार्यक्रमहरु संचालन नहुने अवस्था आउनु

    सेवाभावले स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो चौतर्फी विकास नहुँदासम्म हेटौंडा अस्पतालको श्रोत साधन उपयोग गरि स्वास्थ्य सेवा उपलब्ध गराउनु अन्यथा नभए पनि हेटौंडा अस्पतालको आफ्नो इतिहास नै समाप्त हुनेगरी प्रतिष्ठानमा विलय गराउन खोज्नु सरासर गलत हो । त्यसैले यस विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएकोले नेकपा मकवानपुर संघर्षमा उत्रिने निर्णय गरेको छ

    प्रतिकृया दिनुहोस्