News Portal

  • नेकपा नेताहरुको तर्क, ‘जनयुद्धमा मरेका १७ हजारलाई फर्काउ, राजा फर्काउन छलफल गरौंला’

    जनगर्जन २०८१ बैशाख ६
    ३१ पटक

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुले पार्टीको जारी केन्द्रीय समिति बैठकमा पेस गरेको प्रस्ताव वैज्ञानिक र वस्तुवादी भएको बताएका छन् । केन्द्रीय समिति बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् । नेकपा केन्द्रीय सदस्य तथा मध्यकर्णाली व्युरो इन्चार्ज विवेक सीले महासचिव विप्लवले प्रस्तुत गरेको प्रस्तावले देशलाई नयाँ आयाम दिने बताए ।

    ‘पार्टीले पहिलादेखि नै उठाउँदै आएको विषय यो दस्तावेजमा समेटिएको छ ।’, उनले भने, ‘संसदीय व्यवस्था फेल भइसकेपछि देश र जनताको प्रगती नहुने कुरा हामीले पहिलानै भनिसकेका थियौं । यसको विकल्पमा हामीले वैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवाद लागु गर्नुपर्ने भनेर भनिसकेका छौं । अहिले यसैलाई कार्यान्वयन गर्ने चरणमा महासचिवको प्रस्ताव आएको छ ।’ यो प्रस्ताव सर्वसम्मतले पास हुने जिकिर गर्दै विवेकले कार्यान्वयन गर्नका लागि सम्पूर्ण वामपन्थी, कम्युनिस्ट, लोकतान्त्रीक, राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने बताए । ‘यो डकुमेन्टमा नेपाली विशेषताको समाजवाद लागु गर्न सबै शक्तिलाई गोलबन्द गर्ने, सहकार्य गर्ने खालका कार्यक्रम छन् । अहिलेको संकटको समाधान दिने खालका कार्यक्रम छन् । हामी यसलाई कार्यान्वयन गर्न जनस्तरसम्म लैजाने छौं ।’

    अर्का केन्द्रीय सदस्य तथा गोर्खा जिल्ला इन्चार्ज कपिल सीले आत्मागत अवस्था र वस्तुगत अवस्थाको मुल्याङ्कन गरेर महासचिव विप्लव सीले डकुमेन्ट तयार पारेको बताएका छन् । उनले यो डकुमेन्ट कार्यान्वयनमा जाँदा देशले निकास पाउने बताए । यो नीति पूर्ण कार्यान्वयन हुँदा नेपाल कम्युनिस्ट पार्टी देशको नेतृत्व लिने ठाउँमा पुग्ने उनको ठोकुवा थियो ।

    त्यस्तै, अर्का केन्द्रीय सदस्य उत्सव सीले नेपाल कम्युनिस्ट पार्टीले देशको जिम्मा लिने गरी महासचिव विप्लवको प्रस्ताव आएको बताए । ‘यो डकुमेन्ट वैज्ञानिक छ, वस्तुवादी छ । यसले देशमा रहेको सम्पूर्ण संकटहरुको समाधान दिन्छ, जनताका समस्याहरुको अन्त्य गर्ने विषयहरु यसमा छन् ।’, उनले भने, ‘यो डकुमेन्टले देश चलाउने होइन देशको जिम्मा लिने विषयहरु छ । यो निकै महत्वपूर्ण डकुमेन्ट हुनेछ ।’

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रकाश सीले कपिलवस्तुमा जारी केन्द्रीय समिति बैठक कम्युनिस्ट कल्चर झल्काउने खालको भएको बताए । ‘नेपाल कम्युनिस्ट पार्टीको व्यवहार र सिद्धान्त मलाई मन पर्यो ।’, उनले भने, ‘त्यही संस्कार र संस्कृतिमा कम्युनिस्ट पार्टीको भविश्य छ । कम्युनिस्ट पार्टीले विकास गरेको विचारलाई उचाईं दिनका लागि र कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दिनका लागि विप्लवको नेतृत्वमा मात्रै सम्भव छ ।’ नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपामा धु्रविकृत भएका उनले पार्टीले सुरु गरेको नयाँ संस्कारले आफूलाई उत्साहित बनाएको बताए ।

    त्यस्तै, नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वाटर सीले नेपाली विशेषताको समाजवाद प्राप्तीका लागि महासचिव विप्लवको नेतृत्व सक्षम भएको बताएका छन् । ‘हामी नेपाली विशेषताको समाजवादका लागि संघर्षरत छौं । यसलाई कहिले प्राप्त गर्ने वा कसरी लागु गर्ने भन्ने विषयमा हामी स्पष्ट छौं ।’, उनले भने, ‘हाम्रो नेतृत्व आदरणीय महासचिव यसका लागि सक्षम हुनुहुन्छ । पार्टी केन्द्रीय समिति सक्षम छ । एक ढिक्का छ । हामी नेपाली विशेषताको समाजवाद लागु गर्न सक्षम छौं ।’

    उनले राप्रपाले नेपालमा फेरि राजा फकाउन गरेको आन्दोलन गैरजिम्मेवारी भएको बताए । नेपालमा राजतन्त्र फर्काउनु भनेको मरेको मान्छेला फिर्ता ल्याए सरह भएको तर्क गरे । ‘चिहानमा जलिसकेको राजतन्त्रलाई फिर्ता ल्याउने भन्दै राप्रपाले आन्दोलन गरिरहेकोछ ।’, उनले भने, ‘यो सम्भव छैन । जनयुद्धको क्रममा १७ हजार नेपालीको ज्यान गएको छ । पहिला १७ हजारलाई फिर्ता लिएर आउ, अनि राजतन्त्रका विषयमा छलफल गरौंला ।’

    प्रतिकृया दिनुहोस्