News Portal

  • १४ वर्ष पछि कालोपत्रे हुदै ढोरपाटन सडकखण्ड

    जनगर्जन संवाददाता२०८० फाल्गुण १७
    ९७ पटक

    बागलुङ । सानो नेपाल भनेर चिनिने बागलुङ जिल्लाको ग्रामीण क्षेत्र हुँदै नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि वि.सं. २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो । बहुवर्षे योजना अनुसार चार वर्ष अगाडि सम्झौता गरे पनि कोभिड–१९ का कारण केही समय काम प्रभावित बनेको थियो । अहिले उक्त कामले तीव्रता पाएको छ । ढोरपाटन नगरपालिका–६ दोगाडी हुँदै गाडीखोला–चामिद्वारा–छेन्तुङ ढोरपाटन सडक राष्ट्रिय प्रथामिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको विकल्पको रुपमा लिइन्छ ।

    दूर दराजका गाउँहरु छिचोल्दै ढोरपाटन पुग्ने उक्त सडक सिकार आरक्ष कार्यालयको अवरोधका कारण ढोरपाटन उपत्यका जोड्न सकिएको छैन । हाल दोगाडीदेखि खानी गाउँसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्दै आएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले सडक कालोपत्रे हुँदै आएको हो । २५ करोड २६ लाख रुपैयाँमा सम्झौता भएर काम हुँदै आएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले तीन करोड रुपैयाँ मात्र विनियोजन गरेको भन्दै बजेट थप नभए यस वर्ष पनि कालोपत्रेले पूर्णता पाउन नसक्ने उहाँको भनाइ छ ।

    “यो सडक कालोपत्रेका लागि २०७६ कार्तिक २९ गते सम्झौता भएको थियो, बहुवर्षे योजना अन्तरगत रहेको सडकको काम केही समय कोरोना महामारीले समस्या बनायो, गत वर्षसम्म बजेट अनुसारको काम भएको छ, यस वर्ष सक्ने लक्ष्य हो, सरकारले बजेट थप ग¥यो भने सकिन्छ” इन्जिनियर श्रीसले भन्नुभयो – “यस वर्ष बजेट विनियोजन भए अनुसार तीव्र गतिमा काम भएको छ, दोगाडीदेखि खानी गाउँसम्मको दश किलोमिटर सडक कालोपत्रे हुनु पर्ने हो ।”

    यो सडक ढोरपाटन नगरपालिकाको वडा नम्बर ६ हुँदै वडा नम्बर ९ ढोरपाटन जोडिएको छ । भौगोलिक विकटताका कारण यातायतको पहुँचभन्दा बाहिर रहेका नागरिकले यस सडकले जोडेको छ । यस सडकमार्फत ढोरपाटन पुग्नसमेत सहज र छिटो हुने ढोरपाटन नगरपालिका–६ का अध्यक्ष उमेश बुढा मगरले बताउनुभयो । करिब चौध वर्षपछि कालोपत्रेले पूर्णता पाउन थालेको भन्दै यसले यस क्षेत्रका नागरिकसँगै ढोरपाटन पुग्ने पर्यटकलाई सहज बनाउने उहाँको भनाइ छ । ढोरपाटन जोड्न छ किलोमिटर बाँकी रहेको उहाँले जानकारी दिनुभयो । ढोरपाटन सिकार आरक्ष कार्यालयले विभिन्न कारण देखाएर अवरोध पु¥याउँदा हालसम्म सडक जोडिन नसकेको उहाँको भनाइ छ ।

    अध्यक्ष बुढा मगरले भन्नुभयो – “सडक कालोपत्रे हुन थालेपछि यहाँका नागरिक खुसी भएका छन्, यो सडकले जोडिएको सबैभन्दा टाढाको गाउँ खानी गाउँ हो, त्यहाँबाट ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार आउन दुई घण्टा बढी लाग्छ, यो कालोपत्रे भइ सक्यो भने एक घण्टामै पुगिन्छ, ढोरपाटन जोड्नलाई धेरै प्रयास गरियो तर आरक्षले गर्दा जोड्न सकिएको छैन, ढोरपाटन पुग्ने मुख्य सडकको दुरावस्था छ, यो बाटोको धेरै भाग कालोपत्रे हुन लागि सक्यो, यो सडक हुँदो ढोरपाटन पुग्न छिटो र सहज हुन्छ ।

    प्रतिकृया दिनुहोस्