News Portal

वसन्त ऋतुको हिमाल आरोहण सुरु, ५८ आरोहीले पाए अनुमति

जनगर्जन संवाददाता२०८१ चैत्र १३
६९ पटक

काठमाडौं । सन् २०२५ को वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरिएको छ। पर्यटन विभागका अनुसार हालसम्म विभिन्न २४ देशका ५८ आरोहीले आरोहण अनुमति पाइसकेका छन्। यीमध्ये १८ महिला र ४० पुरुष रहेका छन्।

अन्नपूर्ण–१ लगायतका हिमाल आरोहणका लागि अनुमति प्रदान गरिसकिएको छ भने सगरमाथा आरोहण अनुमति पनि चाँडै दिने तयारी भइरहेको विभागका निर्देशक लिलाधर अवस्थीले जानकारी दिए।

सगरमाथा आरोहणका लागि विभिन्न आरोहण कम्पनीहरू सक्रिय भएका छन्। हाल आधार शिविरमा स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङ लगायतका कम्पनीहरूले शिविर व्यवस्थापन गरिरहेका छन्।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले आरोहीहरूका लागि बाटो निर्माण गर्न ‘आइसफल डाक्टर’ खटाएको छ। आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउने कामका लागि १० जनाको टोली परिचालन गरिएको छ।

यसैगरी, दोस्रो शिविरदेखि सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) जिम्मेवारी अनुभवी शेर्पा आरोहीहरूलाई दिइएको छ। पर्वतारोहण सञ्चालक संघले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोलीलाई डोरी टाँग्ने कार्यका लागि खटाएको छ।

वसन्त ऋतु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले सगरमाथा क्षेत्रमा विदेशी आरोहीको चहलपहल बढ्न थालेको छ। संघका महासचिव ऋषिराम भण्डारीका अनुसार आरोहीहरू केही दिनअघि नै सगरमाथा पुगेका छन्।

सन् २०२५ को वसन्त ऋतुका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणको रोप फिक्सिङ व्यवस्थापन एट्के एक्सपिडिसन कम्पनीले पाएको छ। आरोहण अनुमति पाइसकेका टोलीहरूले चाँडै नै आरोहण यात्रा सुरु गर्ने तयारी गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्