
काठमाडौ । श्रीलङ्काका लागि नेपालका नवनियुक्त राजदूत पूर्णबहादुर नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र श्रीलङ्काका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष प्रस्तुत गरेका छन्।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। कोलोम्बोस्थित नेपाली राजदूतावासका अनुसार उक्त कार्यक्रममा श्रीलङ्काका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
यस अवसरमा राजदूत नेपालीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट श्रीलङ्काली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै श्रीलङ्काली जनताको निरन्तर शान्ति, समृद्धि तथा प्रगतिको शुभकामना व्यक्त गरे।
राष्ट्रपति दिसानायकेले राजदूत नेपालीलाई स्वागत गर्दै नेपालका राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्य एवं नेपाली जनताको शान्ति र समृद्धिको कामना गरे। कार्यक्रममा श्रीलङ्काका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूत नेपालीकी धर्मपत्नी, तथा राष्ट्रपतिको कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।