News Portal

  • ‘सी’ जाति निर्माणको कुरा ऐतिहासिक कदम हो – विप्लव

    जनगर्जन संवाददाता२०८१ कार्तिक ९
    १५९ पटक

    कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले सम्पूर्ण मानव जातिको मुक्तिका निम्ति ‘सी’ जाति निर्माणको कुरा विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक कदम रहेको कुरा बताउनु भएको छ । आज प्युठानमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

    संयुक्त राजनीतिक दलित संघर्ष समिती, प्युठानद्वारा आयोजित ‘सी’ जाती अर्थात समान जाति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले ‘सी’ जाति निर्माणको अभियानमा साथ दिन समेत सबैलाई आग्रह गर्नुभयो ।

    नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी.ले सबै जाति र वर्गको मुक्तिका निम्ति समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता प्रभात केसीले सी. जातिलाई कानुनी प्रक्रियामा लैजानुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) प्रदेश सदस्य खेम परियारले विप्लव नेतृत्वको नेकपाले अगाडि सारेको ‘सी’ जातिको अवधारणालाई व्यवहारिक कार्यान्वयनका लागि थप संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका प्रतिनिधि गौरी बिकले जातीय मुक्तिका निम्ति सबै एकजुट भएर संघर्ष गर्नुपर्ने बताउनुभयो ।

    श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी.ले ‘सी’ जाति निर्माणको कार्यलाई देशभर अभियान कै रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोले आफ्नो संगठनले सशक्त पहल गरिरहेको बताउनुभयो । कार्यक्रममा मोर्चाका बागमती प्रदेश इन्चार्ज पदम सी लगायतको सहभागिता रहेको थियो ।

    प्युठान नगरपालिका वडा नम्बर ४ जुम्रीस्थित आयुष्मा होटलको सभाहलमा भएको कार्यक्रममा विभिन्न स्थानबाट ५०० बढी जनसहभागिता रहेको थियो । कार्यक्रममा सोरठी, झाँकी लगायत सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । पूर्ण गन्धर्व, ध्रुव गन्धर्व, अर्जुन गन्धर्व र सत्य गन्धर्वले सारङ्गीको प्रस्तुति समेत प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रम अगाडि बाजागाजा सहितको र्‍यालीमा प्रमुख अतिथि विप्लवको समेत सहभागिता रहेको थियो ।

    संयुक्त राजनीतिक दलित संघर्ष समिति, प्युठानका जिल्ला संयोजक जय मनको अध्यक्षता, नेपाल दलित मुक्ति मोर्चा प्युठान जिल्ला अध्यक्ष केश बहादुर बिकको स्वागत र सञ्चारकर्मी तथा स्थानीय समाजसेवी बम बहादुर परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

    प्रतिकृया दिनुहोस्