
रसुवा, असार २३ । रसुवा जिल्लाको नेपाल–चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले नेपाल–चीन जोड्ने मुख्य ‘मितेरी पुल’ पूर्णरूपमा बगाएको पुष्टि भएको छ ।
सो बाढीका कारण रसुवा भन्सार कार्यालयको सेडघरमा पार्किङ गरिएको थुप्रै मालवाहक कन्टेनर तथा विद्युतीय सवारीसाधन (इभी) बगाएको छ । सुरक्षाकर्मीले केही गाडी बगिएको पुष्टि गरे पनि कुल क्षतिको यकिन तथ्यांक हालसम्म सार्वजनिक भइसकेको छैन ।
मानविय क्षतिको पनि आशंका गरिएको छ तर आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ । स्थानीय प्रशासन र सुरक्षाकर्मी उद्धार तथा खोज कार्यमा जुटिरहेका छन् ।
यसैगरी, सीमापारि चीनतर्फ समेत नदी थुनिँदा त्यहाँ रहेका मालवाहक गाडीहरू डुबानमा परेका छन् । लेन्देखोलाको बहाव अत्यधिक रहेकाले भौतिक सम्पत्तिमा ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय बासिन्दा र व्यवसायीहरूले तत्काल राहत तथा पुनःनिर्माणको माग गरेका छन् ।
सरकारले क्षतिको यकिन विवरण सङ्कलन गर्न टोली खटाइसकेको बताइएको छ ।
