
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन (एफएफडी–४)’ मा सहभागी हुन आज स्पेन प्रस्थान गर्दै छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन लागेका हुन्। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै स्पेनको राजधानी म्याड्रिड प्रस्थान गर्ने कार्यक्रम छ।
सो सम्मेलनमा विश्वभरका राष्ट्राध्यक्ष, सरकार प्रमुख, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज, तथा संयुक्त राष्ट्र प्रणालीका उच्च अधिकारीहरू सहभागी हुँदै छन्। सम्मेलनमा नेपालले अल्पविकसित, साना तथा टापु राष्ट्रहरूको प्रतिनिधित्व गर्दै त्यस्ता देशहरूको हितमा आवाज उठाउनेछ।
प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। साथै अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ताहरू पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चार दिनसम्म चल्ने सम्मेलन यही असार १६ गतेदेखि १९ गतेसम्म सेभिल्लामा हुनेछ। भ्रमणपछि प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार साँझ ४ः४५ बजे स्वदेश फर्कने कार्यक्रम छ।
उक्त भ्रमणका क्रममा नेपालबाट प्रधानमन्त्री ओलीसहित २१ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुँदैछ। भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. स्मृति शाक्य लगायत रहेका छन्।
त्यस्तै, स्पेनस्थित नेपाली राजदूत शनिल नेपाल, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतका अधिकारी पनि प्रतिनिधिमण्डलमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।