News Portal

अन्तर्राष्ट्रिय सम्मेलन र द्विपक्षीय वार्ताका लागि प्रधानमन्त्री ओली स्पेन प्रस्थान गर्दै

जनगर्जन संवाददाता२०८२ आषाढ १२
२० पटक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय सम्मेलन र उच्चस्तरीय द्विपक्षीय भेटवार्ताका लागि शनिबार स्पेन प्रस्थान गर्दैछन् । उहाँले असार १६ देखि १९ गतेसम्म स्पेनको राजधानी म्याड्रिडमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने कार्यक्रम छ ।

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका सबै तयारी पूरा भइसकेका छन् । स्पेनस्थित नेपाली समुदाय प्रधानमन्त्रीको स्वागतका लागि उत्सुक रहेका छन् भने भ्रमणका क्रममा नेपाल र स्पेनबीच सहकार्य र सम्बन्ध सुदृढ पार्ने विभिन्न महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछन् ।

प्रधानमन्त्रीले भ्रमणकै क्रममा स्पेनका प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गर्नेछन् । साथै, नेपाल–स्पेन सम्बन्ध विस्तार, आर्थिक सहकार्य तथा लगानीका अवसरबारे छलफल हुने अपेक्षा गरिएको छ । सम्मेलनका क्रममा अन्य सहभागी राष्ट्रका नेताहरूसँग पनि प्रधानमन्त्रीले भेटघाट गर्ने कार्यक्रम तय भएको दूतावासले जनाएको छ ।

युरोपको दक्षिणपश्चिम भागमा अवस्थित स्पेन संसदीय प्रजातन्त्र तथा संवैधानिक राजतन्त्र भएको मुलुक हो । सन् १९८६ मा युरोपेली संघको सदस्य बनेको स्पेन सन् १९९५ देखि सेन्जेन क्षेत्रको सदस्यसमेत रहेको छ । करीब ५ लाख ६ हजार वर्गकिलोमिटर क्षेत्रफल ओगटेको स्पेनको जनसंख्या करिब ४ करोड ७४ लाख रहेको छ ।

नेपाल र स्पेनबीच सन् १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सन् २०१८ मा मात्र नेपालले स्पेनमा आवासीय राजदूतावास स्थापना गरेको थियो भने स्पेनले दिल्लीस्थित दूतावासमार्फत नेपाल हेर्दै आएको छ । हाल स्पेनमा कृषि, होटल, पर्यटन र निर्माण क्षेत्रमा करिब २० हजार नेपाली काम गरिरहेका छन् ।

नेपाल र स्पेनबीच विगतदेखि नै उच्चस्तरीय भ्रमण तथा आदान–प्रदान हुँदै आएको छ । यसअघि तत्कालीन राजा वीरेन्द्र, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चारमन्त्री गोकुल बास्कोटा तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्पेन भ्रमण गरी सम्बन्ध सुदृढ बनाएका थिए ।

स्पेन पर्यटकका लागि विश्वकै आकर्षक गन्तव्य हो । सन् २०१८ मा मात्रै करिब १९ हजार स्पेनिस नागरिकले नेपाल भ्रमण गरेका थिए । कोविड–१९ महामारीपछि केही कमी आएको भए पनि अहिले नेपाल–स्पेन पर्यटन प्रवर्द्धनका लागि नयाँ अवसर खुलेको छ ।

यस भ्रमणले नेपाल र स्पेनबीच आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध अझ सुदृढ पार्ने र युरोपेली लगानीकर्ताहरूलाई नेपालतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्