News Portal

अम्बेडकरवाद, विकल्प र दलित मुक्तिका ५ एजेण्डा

जनगर्जन संवाददाता२०८१ माघ २०
१९ पटक

डाक्टर भीमराव अम्बेडकर अध्ययन, अनुसन्धान र आन्दोलनका हिसाबले भारतमा त उहाँलाई मसिहा नै मान्ने गरिन्छ तर नेपालको दलित आन्दोलनमा समेत उहाँको व्यक्तित्व र बिचारको प्रभाव छ।उहाँ एउटा नेतृत्व नै हो भन्ने कुरामा कुनै दुईमत छैन ।दलित के हो ? यो कसरी बन्यो र दलित समस्या समाधान कसरी गर्न सकिन्छ ? भन्ने कुरामा अम्बेडकरले खेलेको भूमिका, अनुसन्धान र आन्दोलनमा पुर्‍याएको उहाँको योगदान दक्षिण एशिया र विशेष गरि भारतमा अतुलनीय नै छ।अझ भन्नुहुन्छ भने बुद्धधर्म, सन्त, कबिर, जैनदर्शन, हुँदै सिख धर्म एवम् (पेरियारको )आन्दोलनसम्म हामीले अध्ययन गर्‍यौं भने बिगतका धर्मसुधार आन्दोलनलाई राजनीतिक आन्दोलनको तहसम्म उठाउँने काम अम्बेडकरले नै गरेका हुन् ।

इतिहासलाई फर्केर हेर्दा गौतम बुद्धले गरेको काम पनि ब्राह्मणवाद विरुद्ध तत्कालीन क्षेत्रीयहरुले गरेको एकप्रकारको बिद्रोह नै थियो।जैनधर्म त्यही बेला जन्मियो, त्यो पनि धार्मिक क्षेत्रमा भित्रीएको बिकृति, बिसङ्गति विरुद्धको लडाइ नै थियो।सिख , सन्त र कबिर लगायतका आन्दोलनहरु पनि त्यही सेरोफेरोमा नै जन्मिएका थिए। यी जो सुधारकहरु थिए तिनले खाली धर्मसुधारको मात्रै कुरा गरेका थिए । यो श्रीङ्खलालाई सर्वप्रथम राजनीतिक तथा सैद्धान्तिककरण गर्ने र नयाँ प्रारुप दिने काम अम्बेडकरले गरेका हुन् ।

यो आफैमा धेरै ठूलो काम पनि हो।उहाँ मुख्य गरि दुई ओटा कुराबाट प्रभावित हुनुहुन्थ्यो ।अम्बेडकर आफ्नो अध्ययनको सिलसिलामा बेलायत जस्तो औधोगिक क्रान्ति भैसकेको देश, जहाँ त्यो बेला फेवियन समाजवाद निकै चर्चामा थियो, त्यसबाट प्रभावित हुनुहुन्थ्यो ।फेवियन समाजवाद भनेको उदारवादी पुँजीवाद नै हो। अर्थात प्रजातान्त्रिक समाजवाद जस्तो राजनीतिक अवधारणा हो त्यो।बेलायतमा फेवियन सोसाइटी भन्ने छ, यो उनीहरुको अवधारणा थियो। साथसाथै उहाँ बुद्ध , सन्त जस्ता धार्मिक बिचार र दर्शनबाट प्रभावित हुनुहुन्थ्यो ।

यी दुईटै कुरालाई जोड्दा र भारतीय समाजमा रहेको ब्राह्मणवाद र जातव्यवस्थाको जुन स्थिति थियो ,त्यसलाई हेर्दा यसप्रकारको पृष्ठभुमिमा उहाँको बिचार निर्माण भएको देखिन्छ । अध्ययन अनुसन्धान गर्ने कुरामा त उहाँ निकै माथी हुनुहुन्थ्यो तर जातव्यवस्थाद्वारा पैदा भएका जुन समस्याहरू छ्न, यसबारे समाधान कसरी दिने भन्ने कुरामा उहाँले संसदीय व्यवस्था अर्थात बेलायती मोडेलको प्रजातन्त्रभित्र नै दलित समस्या समाधान गर्ने परिकल्पना गर्नु भयो। यसलाई हामी अम्बेडकरवाद भन्छौं ।अर्को भाषामा त्यसलाई संसदवाद पनि भन्न सकिन्छ ।नेपालमा पनि संसदीय प्रणाली त्यसरी नै आयातीत भएको हो।

नेपालमा चाहे वामपन्थी कम्युनिस्ट कोणबाट होस् वा पुँजीवादी कोणबाट , जे जति दलित आन्दोलनको चर्चा र मुक्तिको कुरा गरिएको छ ,त्यो यही संसदवादको वरिपरि नै घुमिरहेको छ। सुरुवात देखि यहाँसम्म जे जति भयो अर्थात केहि नभएको स्थितिबाट यहाँसम्म आउनु राम्रो कुरा हो तर यो सुधारको बाटो मात्रै हो।यो आमूल परिवर्तनको बाटो होइन ।सुधारबादले मुक्ति दिन सक्तैन ।यसले दलितहरुलाई , उनीहरुको पीडाको बिचबाट अलिकति माथी ल्याउने काम त गर्‍यो तर रोगको जरोकिलो उखेल्ने काम यसले गर्दैन ।हामीले भारत मै पनि हेर्‍यौ भने त्यो भएको पाइँदैन ।

सारमा भन्दा अम्बेडकरबाद र संसदवादले दलित आन्दोलनलाई यहाँसम्म त ल्यायो तर अब यो टिक्न संभव छैन ।अब हामीले नयाँ बाटो खोज्नुपर्छ ।आन्दोलनको बाटो र बिचार निर्माणको बिषयमा पनि अब नयाँ ढङ्गले सोच्नुपर्छ ।एजेन्डा र गन्तव्यका हिसाबले पनि नयाँ ढङ्गले सोच्नुपर्छ।यसको अर्थ अब दलित आन्दोलन समाजवादतिर जानुपर्छ भन्ने नै हो।

अम्बेडकरवाद र संसदवादको गोलचक्करमा रुमलिएको दलित आन्दोलनलाई समाजवादको तहमा उठाउँन जरुरी छ ।यो नितान्त नयाँ बिषय हो।जस्तै मार्क्स , लेनिन र माओले बिचार निर्माण र क्रान्ति सम्पन्न गर्दा त्यहाँ भारत र नेपालको जस्तो जातीय छुवाछूत र भेदभावको समस्या थिएन।यसबारे उहाँहरुले अध्ययन र लेखेन पनि गर्नु भएको छ तर यहाँको जस्तो छुवाछूतको समस्या ती देशमा नभएकोले जातीय छुवाछूत र बिभेदको समाधान कसरी समाधान गर्ने भन्नेबारे उहाँहरुले कुनै निचोड निकाल्नु भएको थिएन ।त्यो गर्ने दायित्व हाम्रो हो।दक्षिण एशिया र बिशेष गरि भारत र नेपालमा समाजवादी आन्दोलनमा लागेको हाम्रो पुस्ताले यसलाई आन्दोलनको तहमा उठाउँनुपर्छ र दलित मुक्तिको कार्यदिशा तय गर्न सक्नुपर्छ ।

हामीले दलित आन्दोलन र नेपाली विशेषताको समाजवाद बारे अहिले गम्भीर ढङ्गले बहस, छ्लफल गरिरहेका छौं र गर्नुपर्छ पनि।यो आफैमा नंया कोर्स , नयाँ अभियान र बिचार निर्माण कसरी गर्ने भन्ने प्रश्न हो।नेपाली विशेषताको समाजवादको जुन अहिले चर्चा छ, त्यो पनि के भयो भने समाजवाद आएको भनेर बुझ्ने भन्ने कुरा आउँछ।त्यसमा हामीले दलित समस्याको अस्तित्व शून्य हुनुपर्‍यो भनेका छौँ ।त्यसो भएपछि मात्रै त्यो नेपाली विशेषताको समाजवाद भएको मान्न सकिन्छ ।हामीले समाजवादको आधार के-के हुन् भनेर हिसाब गर्ने हो भने पहिलो आधार नै त्यहीँ हुनुपर्छ ।

नेपालमा दलित जातीय समस्या कसरी समाधान गर्ने भन्नेबारे कहिलेकाहीँ हामी निकै जटिल र बिशाल ढङ्गले पनि यसलाई लिने गरेका छौं , त्यो जरुरी छैन ।बिषयको सहि ज्ञान नहुँदा पनि त्यस्तो हुन्छ तर यसलाई सहज र सरल बनाइनुपर्छ ।

हामीले ५ ओटा कुरा गर्न जरुरी छ।सर्वप्रथम त राज्य समाजवादी हुनुपर्‍यो, जहाँ सबै समान हुन्छन् ,समानतामा आधारित समाज हुन्छ ।सानोठूलो भन्ने हुँदैन।त्यसो भयो भने दलित समुदायमाथिको उत्पीडन पनि अन्त्य हुन्छ ।दोस्रो कुरा आर्थिक रूपमा दलितको जुन अवस्था छ, त्यसलाई अरु समुदाय सरह माथी उठाइदिनु पर्‍यो ।अथवा दलितहरुको पराधीनताको अन्त्य गरेर आत्मनिर्भर हुने स्थिति हुनुपर्‍यो। तेस्रो कुरा राज्यले नागरिकलाई दिने नागरिकता वा अन्य प्रमाणमा अनिवार्य रूपमा थर लेख्ने जुन प्रावधान छ, त्यसको खारेज हुनुपर्‍यो । नागरिकले समानतामा आधारित थर लेख्ने वा स्वच्छिक रुपमा थर लेख्न पाइने प्रावधान बनाइनु पर्‍यो।परम्परागत रूपमा जातिगत पहिचान झल्किने गरि जसरी थर लेख्ने व्यवस्था छ त्यसको अन्त्य गरेर इच्छा अनुसार थर लेख्ने वा थर नै नलेखे पनि हुने व्यवस्था हुनुपर्‍यो ।चौथो कुरा चौतर्फी नेतृत्व बिकास हुनुपर्‍यो ।राजनीतिक ,आर्थिक, सामाजिक, साँस्कृतिक प्रशासनिक लगायत समग्र क्षेत्रमा दलितको नेतृत्व बिकास गर्ने योजना हुनुपर्‍यो ।दलितहरु पछि पर्नुको एउटा कारण समाजका महत्त्वपूर्ण ठाँउमा उसको नेतृत्व छैन, उसको क्षमता बिकास हुन पाएको छैन ।समाजको तल्लो पीँधमा मात्रै दलितहरु छन ।र पाचौं कुरा कतिपय मान्छेहरु फेरीपनि कानुन नमान्ने, अराजक हुने वा दलित माथी भेदभाव र उत्पीडन गरि रहन्छन् भने त्यस्तालाई कानुनी दण्ड दिने व्यवस्था र त्यसको दृढ़ कार्यान्वयन हुनुपर्छ ।यी कुराहरू ठिकढङ्गले लागु हुने हो भने दलित समस्या ५/७ बर्षमा सजिलै समाधान गर्न सकिन्छ ।

(शेरवहादु विश्वकर्मासङ्ग गरिएको कुराकानीमा आधारित सामग्रीको सम्पादित अंश)
२०८१/१०/२० काठमाडौ

प्रतिकृया दिनुहोस्