News Portal

  • आज देखि कोशी प्रदेशमा झरी, बाढीपहिरो र डुबानको जोखिम,सतर्कता अपनाउन आग्रह

    जनगर्जन संवाददाता२०८१ आश्विन १६
    ६६ पटक

    काठमाडौं । आज कोशी प्रदेशमा भारी वर्षा भइरहेको छ । दिनभर कोशी प्रदेशमा झरी पर्ने छ । भोलि पनि वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेशमा केन्द्रित भएको पानी पार्ने यो बादल पश्चिमतिर सर्ने क्रममा छ । त्यसैले यसको प्रभाव मधेश, बागमती र गण्डकी प्रदेशसम्म पर्न सक्ने सम्भावना छ ।

    असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पुर्‍याउन सक्ने सम्भावना भएकाले सावधानी/सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ ।

    यतिबेला सुनसरीको तरहरासँगै मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमणिविर्ता, इलामको कन्काई माईचुली, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ ।

    मौसमविदहरुअका अनुसार आज दिउँसो कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको पनि सम्भावना छ ।

    पानी पार्ने यो बादल भारतको आसाम, मेघालय हुँदै नेपाल प्रवेश गरेको छ । यो नेपालमा जति पश्चिम सर्दै जान्छ, त्यति कमजोर हुँदै जाने छ । यसको हल्का प्रभाव काठमाडौं उपत्यकासहित बागमती प्रदेश र गण्डकी प्रदेशसम्म पर्ने छ ।

    पूर्वानुमान अनुसार नै बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा पनि हल्का वर्षा भएको छ ।

    प्रतिकृया दिनुहोस्