News Portal

  • तौलको ब्यालेन्स नमिल्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको प्रारम्भिक प्रतिवेदन

    जनगर्जन संवाददाता२०८१ भाद्र २१
    ७६ पटक

    काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई/सीआरजे २०० कलसाइन भएको जहाज धावनमार्ग नजिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। १९ जनाको टोली रहेको उक्त जहाजमा पाइलट मनीष शाक्य भने बाँचेका थिए।

    जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। यो समितिलाई ४५ दिनभित्र जहाज दुर्घटना छानबिन गरी प्रतिवेदन तयार गर्नै दिएको थियो। समितिले प्रारम्भिक प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई बुझाएको छ।

    प्रारम्भिक प्रतिवेदनमा उडानका बेला पालना गर्नुपर्ने मापदण्ड पूर्ण रूपमा पालना गरेको नदेखिएको कुरा उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    उक्त दिन सौर्यको जहाज मर्मतका लागि पोखरा उडेको थियो। व्यावसायिक उडान नभएकोले तौल नलिई जहाजमा सामान लोड गर्दा असन्तुलन भएको हुन सक्ने समितिले विमानको तौल र सन्तुलन, विमान टेकअफका बेलाको अवस्था, जहाज उडान अनुमतिका विषय, मानवीय कारण र सुरक्षालगायत विभिन्न क्षेत्रमा केन्द्रित रहेर अध्ययन गरेको थियो।

    ग्राउण्ड ह्यान्डलिङ म्यानुअलअनुसार जहाजमा सामानहरू राखिनुपर्नेमा त्यसो नगरिएको पाइएको छ । सामानको तौल लिने, लोड गर्ने र सुरक्षितसाथ राख्नुपर्नेमा ग्राउण्ड ह्यान्डलिङ म्यानुअलको पालना नगर्दा जहाजले सन्तुलन गुमाएको हुन सक्ने पनि उल्लेख छ।

    आवश्यक गति नपुग्दै रनवेबाट जहाज उडान गरेको कारण पनि दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा ‍औंल्याइएको छ। उडान अनुमतिका लागि मापदण्डअनुसार पूर्ण रूपमा नियम पालना नगरिएको पनि प्रतिवेदनमा उल्लेख छ।

    समितिले पूर्ण प्रतिवेदन आउने बेलासम्म अहिले आशंका गरिएका विषय फेरबदल हुन सक्ने पनि जनाएको छ।

    प्रतिकृया दिनुहोस्