News Portal

  • एमालेलाई पनि सरकारमा ल्याउनु पर्छ : थापा

    जनगर्जन संवाददाता
    ११७ पटक

    २०७९ चैत्र १५ बुधबार भक्तपुर । संघीय सांसद एवं नेपाली कांग्रेसका नेता दुर्लभ थापाले गठबन्धनले यथाशीघ्र मन्त्रालयको टुंगो लगाउने बताएका छन् । रफत सञ्चार क्लबमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सत्तागठबन्धन दलहरुमाझ गृह र अर्थ मन्त्रालयको यथाशीघ्र टुंगो लाग्ने र सरकारले पूर्णता पाउने बताएका हुन् ।

    गठबन्धनको राजनीतिक समीकरणले पाँच वर्ष सरकार चलाउने सहमति विगतमा तय भएकाले राजनीतिक स्थिरता कायम हुने भन्दै थापाले भने, अब देश ओरालो लाग्ने नभई आर्थिक सामाजिक समृद्धिको दिशा निर्देश हुनेछ । थापाले, मूलुकको चौतर्फी विकासका लागि प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सरकारमा सामेल गर्नु पर्नेमा बिशेष जोड दिए ।

    देशको ठूलो राजनीतिक दल कांग्रेस भएकाले सबै राजनीतिक दललाई मिलाएर लान सकस भएता पनि लामो राजनीतिक अनुभवका आधारमा कांग्रेसले राजनीतिक सहमतिलाई नचुकिकन इमान्दारपूर्वक लागू गर्ने थापाले बताए । संघीयताका विषयमा विभिन्न प्रश्नहरु उब्जिरहेका बेला संघीयताको व्यावहारिक कार्यान्वयनलाई पारदर्शीतवरले लागू गर्नेमा कांग्रेस अग्रसर हुनेको थापाले बताए ।

    मिटरब्याजी समस्या संघीय सरकारको मात्र नभएर यसलाई प्रदेश र स्थानीय सरकारले समन्वय गरी समाधान गर्नुपर्ने बताउँदै यथाशीघ्र संघीय सरकारले यसको समाधानको उपाय निकाल्ने समेत थापाले बताए । आर्थिक क्षेत्रमा देखिएको मन्दीलाई दृष्टिगत गरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन कांग्रेस सचेत रहेको बताउँदै थापाले वर्तमान आर्थिक संकटलाई थप बढावा दिने काम राष्ट्र बैकको अर्थ नीतिले गरेको उनले आरोप लगाए ।

    आर्थिक अवस्था सुधार गर्न व्यक्तिले थुपारेको धनलाई बैकिङ प्रणालीमार्फत विभिन्न उद्योग, व्यवसायमा लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

     

    प्रतिकृया दिनुहोस्