News Portal

  • जनयुद्धप्रति गर्व गरौं

    उभार
    २५२ पटक

    पक्कैपनि जनयुद्धका ती १० बर्षहरु जति धेरै तुफानमय थिए, जति धेरै प्रसव र पीडामय थिए त्यो भन्दा धेरै गुणा मुल्यवान, उल्लासमय र गौरवपुर्ण थिए । तर ती १० बर्ष भन्दा पछि आजसम्मका १७ बर्षहरु निकै तिक्ततापुर्ण विरक्तलाग्दा, र परिसानयुक्त रहेका छन् । वास्तवमा आजको पुस्ताले त्यो ऐतिहासिक जनयुद्धलाई कुन नजरले बुझ्ने ? जनयुद्धका कमान्डर, नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले कसरी हेर्ने ? छोरा र छोरी गुमाउने आमाबाबाहरुले के बुझ्ने जनयुद्धलाई ? बुवाआमा गुमाउने सहिद र बेपत्ताका सन्ततिहरुले कसरी लिने जनयुद्धलाई ? अङ्गभङ्ग बनेका घाइते आपाङ्गहरुले कस्तो सोच्ने जनयुद्धलाई ? अझ जनयुद्धको घनघोर बिरोधिहरुले (जो आज जनयुद्धको उपलब्धिमा मालामाल छन्) कसरी बुझ्ने त्यो महान क्रान्तिलाइ ? विडम्बना ! आज जनयुद्धलाई हेर्ने र हेराउने दृष्टिकोणहरुमा आग्रह पुर्वाग्रह नहुनुपर्ने हो । तर जनयुद्धप्रतिको बुझाइहरु क्रमश बिषाक्त बनिरहेका देख्दा एउटा महान इतिहासप्रति गम्भीर अन्याय भएको आभास हुन्छ ।

    सम्मान वा अपमान, गौरव वा सत्तोसराप, स्वीकार वा अस्वीकार जे जसरी हेरेपनी महान जनयुद्ध एउटा ऐतिहासिक भब्य युगान्तकारी घटना थियो । न्याय, समानता, मुक्ति र स्वतन्त्रताको निम्ति उत्पीडित बर्गले झुपडीबाट संगठित रूपमा झन्डा उठाएको इतिहास हो जनयुद्ध । उच्च त्याग, समर्पण र बलिदानले भरिपुर्ण इतिहास हो जनयुद्ध । तत्कालीन सामन्त, प्रतिक्रियावाद, बिस्तारवाद र साम्राज्यवादको निद हराम गर्ने बर्गयुद्द हो जनयुद्ध । आफ्नो अधिकारको निम्ति जुट्ने, उठ्ने, बोल्ने र लड्ने जागरुक चेतानाको इतिहास हो जनयुद्ध । सत्य कुरा यो हो कि थिचोमिचो, दमन, अत्याचार र भेदभावका दानविय परिपाटीहरु स्वत: आफै कम्जोर भएका होइनन् । यद्यपि आज जनतामाथि भुमण्डलीकृत पुजीवादको कहालीलाग्दो दोहन अझै डरलाग्दो छ । करिब अढाई सय बर्षको पुरानो निरंकुश राजतन्त्र सजिलैसँग छुमन्त्रको भरमा समाप्त भएको होईन । यद्यपि आज नयाँ रुपका हजारौं राजा रजौताहरु गल्लि गल्लिमा भुनभुनाइरहेकै छन् । आंशिक रूपमा नाममात्रैको भएपनि उपलब्ध लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशी, सामाजिक न्याय, धर्मनिरपेक्ष, नयाँ चेत र जागरण जस्ता कैयौं जनपक्षीय उपलब्धिहरु कसैले सित्तैमा दान दिएका होइनन् । यद्यपि आज लोकतन्त्र शोकतन्त्रमय छ, गणतन्त्र धनतन्त्रमय छ । हो जनयुद्धकै कारण आज हामीलाई तमाम दुरगामी महत्त्वका परिवर्तनहरुमा उभिन सम्भव भएको हो । तर आज जनयुद्धकै उपलब्धिमाथि मस्ती गर्दै जनयुद्धको अवमूल्यन गर्ने राजनैतिक मनोरोगीहरु अर्थात वैचारिक लफङ्गाहरु राजनैतिक बजारमा यत्रतत्र देख्न सक्छौं । महान संघर्ष, त्याग र बलिदानद्वारा आर्जन भएका तमाम प्राप्तिहरुलाई अपमान गर्ने पुर्वाग्रही लठैटहरु निकै दयालाग्दा देखिन्छन् ।

    जनयुद्धको मुल उदेश्यप्रति जनयुद्धका मुल नेतृत्वहरुले गरेका अक्षम्य कुठाराघातका कारण सर्वत्र निराशा, अबिस्वास, गुनासो र खबरदारी आउनु स्वभाविक मात्र नभई अनिवार्य पनि थियोे । जनयुद्धको मुख्य लक्ष्य अधुरै छ । नयाँ जनवादी ब्यबस्था- वैज्ञानिक समाजवादी ब्यबस्था र विश्व साम्यवादी ब्यबस्थाको निम्ति भनि योद्धाहरु हासिँ-हासिँ छातिमा गोली थाप्न तयार भएका थिए । राष्ट्रियता, जनतन्त्र र जनजिविका अहम् मुद्दाहरुप्रति आस्था, विस्वास र भरोसाकै कारण लाखौं करोडौं नेपालीहरुले योगदान र सहयोग गरेका थिए । वास्तवमा ऐतिहासिक जनयुद्ध र ६२/६३ को जनआन्दोलनले विद्यमान दलाल पुजीवादी संसदिय ब्यबस्थाको कुनै कल्पना गरेको थिएन । तर आज जबर्जस्त प्रतिक्रान्ति लादिएको छ । देश शान्ति, समृद्धि, आत्मनिर्भर, विकास र स्वाधीनता तिर हैन झन् झन् अशान्ति, कंगाल, परनिर्भर, दुर्गति र राष्ट्रिय आत्मसमर्पण तिर गइरहेको छ । रोग, भोक, अभाव, असमानता, दलाली, भ्रष्टाचार, राष्ट्रघात, महङ्गि, बेरोजगार र असुरक्षाले मुलुक दर्दनाक अवस्थामा पुगेको छ । जनताका सुख र खुशीहरु हराएका छन् । निश्चय पनि जनयुद्धको प्रमुख उदेश्य राजनैतिक सत्ताको प्रश्न समाधानतिर गएको भए यी भयावह परिस्थितिको आगमन सम्भव थिएन । लक्ष्य र उदेश्यमा गरिएको बेइमानीका कारण जनयुद्धको नेतृत्व गर्ने माओवादी शक्तिहरु आज विभिन्न घटकमा बिभाजित छन् । संसदिय रुझानभन्दा बाहिर निस्कनै नसक्नेगरि सरकारी माओवादी कुर्सी खेलमै मैमत्त छ । केही नभेट्टिने गरि नदेखिने गरि हजारौं माइल टाढा पुगिसके । केहि क्रान्तिलाई गति, विकास र विज्ञानको रूपमा हैन शास्त्रीय भजनकृतनको रुपमा भट्याउन ब्यस्त छन् । केहि उट्पट्याङ र केटाकेटीपनामा छ्ट्पटाउदै बिसर्जनको लयमा भौतारिरहेका छन् । एउटा शक्ति चाहिँ आशा र सम्भावनाका साथ संसदवाद, संशोधनवाद, आत्मसमर्पणवाद, पलायनता, रुढिवाद र बिसर्जनवादबाट आफुलाइ जोगाउदै अविचलित रुपले क्रान्तिमा अगाडी बढिरहेको छ, त्यो हो नेपाल कम्युनिस्ट पार्टी ।
    नेपाल कम्युनिस्ट पार्टीले दलाल पुजीवाद तथा भुमण्डलीकृत पुजीवादका विरुद्ध एकीकृत जनक्रान्ति सन्चालन गरिरहेको छ । अग्रगमनका पक्षमा इतिहासमा जतिपनी संघर्षहरु भए, जनयुद्ध र ती भन्दा पहिलेका सम्पुर्ण अधुरा राजनैतिक कार्यभार पूरा गर्ने जिम्मेवारी सहित नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा विकास गरेको हो । सबैखाले प्रतिक्रियावादी, संशोधनवादी, संसदवादी, आत्मसमर्पणवादी, विसर्जनवादी, जडशुत्रवादी र फुटवादीहरुका सारा प्रहार, घेराबन्दी, दमन, प्रतिबन्ध, गिरफ्तारी, हत्या र षड्यन्त्रहरुलाइ परास्त गर्दै श्रमिक जनता, देशभक्त तथा जनवादी शक्तिहरुको विस्वास र भरोसा सहित नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय राजनीतिको वैकल्पिक केन्द्रमा आइपुगेको छ । नेपालको असफल र संकटग्रस्त अवस्थाको मुख्य कारण दलाल पुजीवादी सत्ता नै हो । यसको एकमात्र सहि निकास र विकल्प ब्यबस्था परिवर्तन गर्नुपर्दछ । त्यो भनेकै एकीकृत जनक्रान्ति मार्फत सामाजिक फासिवादी दलाल संसदिय ब्यबस्थालाई समुलनस्ट गरि न्याय, समानता, शान्ति, समृद्धि, स्थायित्व र स्वाधीनताको सुनिश्चित हुने वैज्ञानिक समाजवादी ब्यबस्था स्थापना गर्नुपर्दछ ।

    आज २८ औं जनयुद्ध दिवस । जनयुद्धप्रति सबैले गर्व गरौं । जनयुद्ध, जनआन्दोलन र जनपक्षीय संघर्षका कैयौं अधुरा कार्यहरु पुरागर्न अग्रगमनको मोर्चामा हातेमालो गरौं । इतिहासलाई निश्पक्ष रुपले अध्यन, अनुसन्धान र सम्मान गरौं । आमूल परिवर्तनको निम्ति जीवनको कुर्वानी गर्ने सम्पुर्ण सहिदहरुप्रति हार्दिक श्रद्धासुमन ! राज्यद्वारा बेपत्ता भएका योद्धाहरुप्रति उच्च सम्मान ! गहिरो माया र प्रेमका साथ जनयुद्धका तमाम सहयात्रीहरुलाइ मिठो सम्झना सहित २८ औं जनयुद्ध दिवसको न्यानो शुभकामना ! सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते-अपांग साथिहरुमा सम्मानपुर्वक अभिवादन सहित २८ औं जनयुद्ध दिवसको हार्दिक शुभकामना ! सम्पुर्ण श्रमिक जनसमुदाय, देशभक्त, परिवर्तनकामी नेपालीहरु देशविदेश जहाँ हुनुहुन्छ सबैमा जनयुद्ध दिवसको हार्दिक हार्दिक शुभकामना !!

    प्रतिकृया दिनुहोस्