
काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा बजेटसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गर्ने कार्यसूची रहेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्न लागेको ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई आजको बैठकमा पारित गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । साथै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पारित गर्ने सम्भावना छ ।
संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी दिने कार्यक्रम पनि तय भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन ओली आजै स्पेन प्रस्थान गर्दै छन् ।
संसद बैठकले बजेट कार्यान्वयनको प्रक्रिया अघि बढाउने तथा प्रमुख राजनीतिक विषयमा छलफल र निर्णय लिने अपेक्षा गरिएको छ ।