
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा नाफामुखी अभ्यास अन्त्य गर्नुपर्ने बताएकी छन् ।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई पालना गर्ने हो भने स्वास्थ्य र शिक्षाबाट नाफा कमाउन नपाइने बताइन् ।
श्रेष्ठले निजी विद्यालयलाई १५ वर्षभित्र गैरनाफामूलक संस्थामा रूपान्तरण गर्नुपर्ने प्रस्ताव पनि राखिन् । उनले भनिन्, “नेपालभित्र सञ्चालित निजी विद्यालयहरू क्रमशः गैरनाफामूलक र लोककल्याणकारी सेवामूलक विद्यालयको रूपमा रहनेछन् भनेर कानुनमै उल्लेख गर्नुपर्छ ।”
शिक्षा र स्वास्थ्य सेवालाई व्यापारको नभई सामाजिक उत्तरदायित्वको क्षेत्रमा ल्याउनुपर्ने उनको भनाइ थियो । यसका लागि ठोस नीति र कानुनी व्यवस्था आवश्यक रहेको उनले औंल्याइन् ।