News Portal

अख्तियार दुरुपयोगको औजार होइन, सेवामूलक संस्था हो” :-प्रम केपी ओली

जनगर्जन संवाददाता२०८२ जेठ २५
१२ पटक

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै ‘प्रयोग गर्ने’ संस्था नभई कानुनी जिम्मेवारीअनुसार ‘काम गर्ने’ निकाय भएको स्पष्ट पारेका छन्।

शनिबार मोरङको कटहरी गाउँपालिका–२ मा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय अख्तियारलाई लिएर देखिएको राजनीतिक आरोप–प्रत्यारोपबारे धारणा राखेका हुन्।

उनले भने, “अख्तियार प्रयोग गर्ने संस्था होइन, काम गर्ने संस्था हो। त्यसको स्वतन्त्रता र जिम्मेवारीलाई सम्मान गर्नुपर्छ।”

यो टिप्पणी उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि आएको आलोचनाको सन्दर्भमा गरेका हुन्। पतञ्जली आयुर्वेदसँग जोडिएको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसमेत प्रतिवादी बनाइएपछि नेकपा (एकीकृत समाजवादी)ले यो कदमलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै आएको छ।

ओलीले कुनै पनि संवैधानिक निकायलाई ‘स्वार्थपूर्ति’का लागि प्रयोग गर्नु नहुने धारणा राख्दै भने, “संविधानले दिएको मापदण्डभित्र रहेर सबै निकायले काम गर्नुपर्छ। राजनीतिक बदला लिनका लागि संस्था दुरुपयोग हुनु हुँदैन।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय तहमा स्वास्थ्य र प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न सरकारले प्राथमिकता दिएकोसमेत बताए।

प्रतिकृया दिनुहोस्