News Portal

  • लगातार २ दिनको वर्षाले मोरङमा १०० परिवार विस्थापित

    जनगर्जन संवाददाता२०८१ आश्विन १२
    ४४ पटक

    कपिलवस्तु । लगातार २ दिन सम्म आएको अविरल वर्षासँगै बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय भन्दा बढी परिवार विस्थापित भएका छन् ।

    विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय भन्दा बढी परिवार विस्थापित भएका छन । प्रहरीको रेकर्डमा भने ९४ परिवार विस्थापित भएको उल्लेख छ ।

    रंगेलीमा ४१ परिवार, लक्ष्मीपुरका १६ परिवार विस्थापित भएका छन् । उनीहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

    रंगेली नगरपालिका–९ मा डाँस खोलाको बाढी खोलाधार टोलमा पसेपछि २२ परिवार विस्थापित भएका छन् । विराटनगर महानगरपालिका–२ र कटहरी गाउँपालिका १ का केही परिवार विस्थापित भएका छन् ।

    सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर–२ का ३ परिवार आफन्तको घरमा सरेका छन् । कटहरी–१ बख्खु टोलका ४ परिवार विस्थापित भएका छन् ।

    सिंघियाकै बाढीका कारण जहदा गाउँपालिका १ धुनी टोल सरबरीया बस्तीमा २५ घर डुबानमा परेका छन् । उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

    धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् । मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि उनीहरु विस्थापित भएको प्रहरीले जनाएको छ ।

    विराटनगरको दक्षिणपश्चिम क्षेत्रका केही बस्ती पनि डुबानमा परेका छन् । केशलिया खोलामा आएको बाढी र परेको पानी निकास नहुँदा बस्ती डुबानमा परेको हो । प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार केशलिया खोलामा आएको बाढी बस्तीमा पसेको हो । बाढीका कारण केही परिवार विस्थापित भएका छन् ।

    प्रतिकृया दिनुहोस्