News Portal

मध्यपहाडी लोकमार्ग, मदन भण्डारी र हुलाकी राजमार्ग मेरो निर्णयमा बने:- प्रचण्ड

दिनेश विकल्प २०८२ जेठ ८
५५ पटक

बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गजस्ता महत्वपूर्ण पूर्वाधार निर्माण आफ्नो नेतृत्वको सरकारले निर्णय गरेको दाबी गरेका छन्।

‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत बागलुङको बुर्तिवाङ र गलकोटमा आयोजित सभामा बोल्दै उनले २०६५ सालमा यी राजमार्गको परिकल्पना र निर्णय आफूले गरेको बताए। “मैले २०६५ मा लोकमार्ग बनाउने निर्णय गरेको थिएँ, अहिले त्यसले पहाडी क्षेत्रको विकासमा ठूलो योगदान दिएको छ,” उनले भने, “कसैले आएर गफ लगायो भने नपत्याउनु होला।”

प्रचण्डले हिमालको फेदीमा अर्को राजमार्गको आवश्यकता रहेको उल्लेख गर्दै ती राजमार्गहरूलाई उत्तर-दक्षिण करिडोरमार्फत जोड्नुपर्ने बताए। कालिगण्डकी लगायतका करिडोर त्यसै अनुसार निर्माण गरिएको उनले स्पष्ट पारे।

उनले २०६५ को सरकारले दुरदर्शी निर्णय लिएको भन्दै वर्तमान सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए। “भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा माओवादी नेतृत्वको सरकार नै ढालियो,” उनले भने, “देशी-विदेशी शक्तिहरूले माओवादीको राम्रो काम देख्न सकेनन्।”

प्रचण्डले उत्तरगंगा जलासययुक्त जलविद्युत् आयोजना बागलुङ तर्फ बनाउनुपर्ने धारणा पनि राखे। रुकुम र बागलुङबीच विवाद भइरहेको बेलामा बागलुङतर्फ सस्तो, सहज र प्रभावकारी रूपमा आयोजना निर्माण गर्न सकिने भएकाले त्यसमा पहल गर्ने आश्वासन दिए।

पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीले समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र ल्याएको बताउँदै पार्टीले शुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गरिरहेको बताए।

वरिष्ठ उपाध्यक्ष पम्फा भुषालले भने वर्तमान सरकार बिचौलियाको जालोमा परेको आरोप लगाइन्। उनले सरकारले आफ्नालाई जोगाउने र विरोधीलाई जेल हाल्ने भेदभावपूर्ण रवैया अपनाएको टिप्पणी गरिन्।

कार्यक्रममा माओवादी नेताहरूले सहिद परिवार, जनआन्दोलनका घाइते र बेपत्ता परिवारलाई भेटघाट गर्दै माओवादीको अभियान आम नागरिकको आशा र भरोसाको अभियान भएको जनाएका थिए।

प्रतिकृया दिनुहोस्