News Portal

भारतीय हवाई आक्रमणमा सात पाकिस्तानीको मृत्यु, ३५ घाइते

जनगर्जन संवाददाता२०८२ बैशाख २४
२७ पटक

काठमाडौ । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरेको हवाई आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्। बीबीसी र पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तान आर्मी इन्टर सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन्।

भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा लक्षित आक्रमण गरेको दाबी गरे पनि पाकिस्तानी सेनाले भने जम्मा तीन स्थानमा आक्रमण भएको बताएको छ।

पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादका बासिन्दाहरूले ठूला विस्फोटका आवाजले आफूहरू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। भारतले यो कारबाही कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको हालैको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप गरेको जनाएको छ।

सो आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो। भारतले त्यस आक्रमणको जिम्मेवारी पाकिस्तानमाथि लगाउँदै आएको छ।

आणविक हतियार सम्पन्न भारत र पाकिस्तानबीचको सम्बन्ध यस घटनापछि झनै चिसिएको छ। कश्मीर क्षेत्रलाई दुवै देशले आ-आफ्नो हिस्सा ठान्दै आएको छ, जसले गर्दा त्यहाँ बारम्बार द्वन्द्वका घटनाहरू भइरहने गरेका छन्।

प्रतिकृया दिनुहोस्