News Portal

भारतीय आक्रमणपछि पाकिस्तानको पञ्जाबमा आपतकाल घोषणा, दुबै देशबीच चुलियो तनाव

जनगर्जन संवाददाता२०८२ बैशाख २४
१३० पटक

काठमाडौं । भारतको सैन्य आक्रमणपछि पाकिस्तानले आफ्ना केही भागमा आपतकाल घोषणा गरेको छ। विशेष गरी पञ्जाब राज्यमा आपतकाल लागू गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतले हालै जम्मु–कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको जवाफस्वरूप पाकिस्तानका नौ स्थानमा सन्देशमूलक सैन्य कारबाही गरेको दाबी भारतीय मिडियाले गरेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार यस सैन्य कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम दिइएको छ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले आक्रमणपश्चात आफ्नो एक्स (पूर्व ट्विटर) ह्यान्डलमा “भारत माता की जय” लेख्दै कारबाही पुष्टि गरेका छन्। यसबीच, पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले भारतको आक्रमणको जवाफ दिन पाकिस्तान पूर्णतया सक्षम रहेको बताएका छन्। पाकिस्तानी सञ्चारमाध्यम डानले उनलाई उद्धृत गर्दै लेखेको छ, “भारतले थोपरेको युद्धको उचित जवाफ दिन पाकिस्तान बाध्य छ। हामी जवाफ दिइरहेका छौं, सम्पूर्ण देश सेना र राष्ट्रको सुरक्षाको पक्षमा एकजुट छ।”

डानको रिपोर्ट अनुसार भारतको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। भारतले पाकिस्तानका कोल्टी, बहावलपुर, मुरिदके, बाघ र मुजफ्फराबाद लगायतका क्षेत्रमा आक्रमण गरेको बताइएको छ।

हाल दुबै देशबीच सैन्य तनाव चुलिएको छ। अन्तर्राष्ट्रिय समुदायले परिस्थितिमाथि निकट निगरानी राखिरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्