
म्याग्दी । कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनाबिना गरेको आरोपमा पक्राउ परेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा नेकपा एमालेबाट निलम्वित भएका छन् । नेकपा एमाले गण्डकी प्रदेशको सम्पन्न चौथो सचिवालय बैठकले थापालाई मुद्दाको अन्तिम किनारा नलागुन्जेल निलम्वन गर्ने निर्णय गरेको हो ।
थापा एमाले म्याग्दीको पूर्वउपसचिव तथा प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य समेत हुन् । उनी बेनी म्यादी स्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका हुन । उनको मुद्दामाथि म्याग्दी जिल्ला अदालतमा बहस जारी छ ।
बैठकले पार्टीले संचालन गर्न गइरहेको तीन महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेवारी बाँडफाडसमेत गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।
बैठकले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय समेत गरेको प्रदेश कमिटीका उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले बताए ।
बैठकमा पार्टीका बागलुङ जिल्ला अध्यक्ष हीराबहादुर केसी, लमजुङ अध्यक्ष राजकुमार बिष्ट, गोर्खा अध्यक्ष सुरेन्द्र थापा, तनहुँ अध्यक्ष हरिराज कंडेल, पर्वत अध्यक्ष गोविन्द पहाडी, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदी, कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जिल्ला कमिटीको गतिविधि र कार्यक्रममाथि प्रकाश पारेका थिए । बैठक प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो