News Portal

  • सशस्त्र प्रहरीकै आडमा कपिलवस्तुका नाकाहरूबाट चल्छ तस्करीको लाइन

    जनगर्जन २०८१ मंसिर १
    ५०४ पटक

    कपिलवस्तु । कपिलवस्तुका नाकाहरूबाट केही दिन यता व्यापक मात्रामा तस्करी धन्दा शुरू भएको छ । तिहार छठको आगमन र समापनसँगै जिल्लाका सीमा नाकामा तस्करी मौलाएको छ। सीमा क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र भन्सार बिभागकै मिलेमतोमा जिल्लामा तस्करी बढेको देखिन्छ। सीमा क्षेत्रमा रहेका बीओपीहरूले सशस्त्र प्रहरीका उपरीक्षकको मौन स्वीकृतिमा अवैध रकम संकलन गरिरहेका छन्। सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिरहेको अवस्थामा सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी हुनुले राजश्व संकलन झनै प्रभावित भएको देखिन्छ । भन्सार छलेर भारतबाट विभिन्न सामान तस्करी गर्ने क्रम बढेपनि नियन्त्रणमा पहल नहुँदा लाखौं रुपैयाँ राजश्व चुहावट भइरहेको छ।सीमावर्ती क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा यसरी खुलेआम तस्करी चलेको देखिन्छ । कृष्णनगर, रंगपुर, मर्जादपुर लगायतका नाकाहरूबाट तस्करी धन्दा व्यापक चलिरहेको छ ।

    खुलेआम भन्सार तस्करी बढिरहेको व्यापक जनगुनासो पछि प्रतापपुर न्युज र जनगर्जन मिडियाको सहकार्यमा मिडियाको स्थलगत रिपोर्टिङमा भन्सार बिभाग र सशस्त्र प्रहरी संग सहकार्य गर्ने जमर्को गरिरहदा पनि मिडियाप्रती सकारात्मक वातावरण निर्माण गर्न उनीहरुको चासो देखिएन र रिपोर्टिङको क्रममा जनगर्जन मिडियाका द्वय पत्रकार मन बहादुर सहकारी र रामबहादुर बुढा माथी तस्करीहरुबाट हातपात तथा लुटपाट हुँदा पनि तस्करी बचाउमा प्रहरी प्रशासन लागेको हो । तस्करी समातेर पत्रकारलाई न्याय दिनुको सत्ता तस्करी भगाएर पत्रकार लाई प्रहरी कार्यालय लगिएको हो । यसरी दिनदहाडै प्रहरी प्रशासनको अगाडि तस्करी भैरहदा पनि मुकदर्शक बनिरहेका हुन्छन सिमा सुरक्षाका लागि खटिएका प्रहरी प्रशासन ।यी विषयमा सम्बन्धित निकाय मौन रहे बोलेनन प्रहरी प्रशासन बोलेन पत्रकार महासघ कपिलवस्तु के सबै को मिलेमतो हो त तस्करी प्रकरण ?

    यसरी प्रहरी, भन्सार, सशस्त्र कै मिलेमतोमा रंगपुर नाकाबाट तस्करीको लाइन पाउनेहरूमा बिनोद लोहर कपडा, सन्दिप जैसवाल, जुदेन मुसलमान, कांग्रेस कलवारले पनि कपडाको तस्करी गर्ने लाइन पाएका छन् ।

    त्यसैगरी राजकुमार कलवार, चिनक कलवार, लल्लु कलवार, महेन्द्र पाल लगायतकाले यसै नाकाबाट प्याज, गल्ला, किराना लगायतका सामानको तस्करीको लाइन पाएका छन् । यसका अलावा मर्यादपुर नाकाबाट तस्करीको लाइन पाउनेहरूमा सन्दिप जैसवाल, दुग्रेश चौधरी, आलोक गुप्ता, भगवान दास, राजेश लगायतका छन् । यिनीहरूले कपडाको तस्करीको लाइन पाएका हुन । साथै यसै नाकाबाट मुबारक अलि मुसलमान, पन्नु चौरसिया, दिनेश काहर, भोधे काहर समेतका झण्डै अरू एक दर्जन कारोबारीले प्याज र किरानाको तस्करीको लाइन पाएका छन् । शुद्धोधन गाउँपालिका क्षेत्रको नेपाल भारत सीमाबाट कवाडी सामानहरूको भारततर्फ तस्करी बढेको छ । कारोवारीहरूले सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सेटिङ मिलाएर भारततर्फ निकासी गर्दै आएका छन् । शुद्धोधन गाउँपालिकाको गनवरिया गाउँनजिकै स्टक गरेको कवाड सामग्रीहरू ट्याक्टर, ठेला र मोटरसाइकलमा सीमा पार गरी भारतीय क्षेत्रसम्म पुर्याईने गरेको पाइएको छ।

    काठमाडौं, पोखरा, नारायणगढलगायतका स्थानबाट ट्रकमा लोड गरेर यहाँ प्लाष्टिक र फलामजन्य कवाड वस्तुहरू ल्याइन्छ । यहाँ ल्याइएका कवाड सामग्रीहरूलाई बोरामा प्याक गरेर सीमा पार गर्न स्थानीय सर्वसाधारणलाई समेत मिलाइएको छ । नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल विओपी हथिहवा भने अवैध धन्दा भइरहे पनि मौन देखिएको छ । कवाड सामाग्री भारत तर्फ निकासी गर्ने ठेकेदार भारतीय नागरिकले भने आफूले सबैलाई मिलाएर काम गरिरहेको बताउने गर्छन । स्थानीय प्रहरी चौकी, सशस्त्र प्रहरीलगायत सबैलाई मासिकरुपमै केही रकम दिएर कारोवार सञ्चालन गरेको उनले दाबी गरेका छन ।यहाँबाट निरन्तररुपमा अवैध ढंगबाट ट्याक्टरमा लोड भएर यहाँ डम्पिङ गरिएको कवाड सीमा पार गरी भारततर्फ पुगिरहेको छ ।भारतीय बजार धनगढवा नजिकै करिब ५ सय मिटर पश्चिम दक्षिण तर्फ लगेर कवाड संकलन गरी राखिएको छ । यसरी भारतीय बजार धनगढवा पुगेको कवाडलाई भारतीय व्यवसायीले कवाड प्रशोधन गरिने भारतीय उद्योगसम्म पुर्याउने गरेका छन् ।

    काठमाडौं,पोखरा,नारायणगढलगायतका स्थानबाट संकलन गरिएको कवाडलाई अवैधरुपमा भारतीय बजारसम्म पुर्याउने यो कार्यमा विशेष गरी भारतीय व्यवसायी संलग्न छन् । उनले नवलपरासीका कवाड व्यवसायी सुरज चमारको नाममा फर्म दर्ता गरेर नेपालतर्फ कवाड सामग्री संकलन र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ५ गनवरिया नजिक सीमा क्षेत्रसम्म ल्याउने गरेका छन् । नेपाली व्यवसायीको आडमा भारतीय व्यवसायीले सीमा क्षेत्रमा खटिएको प्रहरी प्रशासनलाई मिलाएर ठूलो धन्दा नै चलाएका छन् ।यी विषयमा सम्बन्धित निकायसँग सहकार्य त परै जान्छ विषय उठान गर्दा उल्टै पत्रकारहरु कुटिन्छ्न लुटिन्छन त्यसको सुरक्षा कसले गर्ने यी क्षेत्रमा आवाज उठाउदा अपराधी बनिन्छ भने तस्करी गर्दा सेठ बनिन्छ ।

    कपिलवस्तुको मायादेवी गाउँपालिका चाकडचौडामा छोटी भन्सार कार्यालयसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा चेक पोस्ट पनि छ। सशस्त्र प्रहरीको काम सीमा क्षेत्र सुरक्षाका साथै तस्करी रोक्नु पनि हो। तर, ठाउँ–ठाउँमा बीओपीहरू भएपनि तस्करी रोक्ने कार्य गरेको भने पाइँदैन। तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी र भन्सार कर्मचारी संयुक्त टोली बनाएर बस्ने गर्छन्। तस्करले सामान ओसार पसार गरिरहेका हुन्छन्, तर सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरू त्यो सबै नदेखेझैं गरी बस्छन्। अनि तस्करहरूले खुलेआम तस्करी गर्छन् । भारतीय सीमाबाट करिब ५०० मिटर दूरीमा चामलका गोदामहरू छन् । ती गोदाम सञ्चालकले प्रहरी र भन्सारका कर्मचारी अगाडिबाटै क्यारियर गराएर सामान ल्याउँछन्। गोदाम बाहिर काँटा राखेर तौल गर्दै बोरा प्याकिङ गरिरहेको दृश्य हरेक दिन देखिन्छ । मिलेमतोमा भएको तस्करीका कारण तस्करहरूले ढुक्क भएर सामान ओसारपसार गरिरहेको स्थानीय बताउँछन् । तस्करले बाहिर चामल मिल, चामल उद्योग जस्ता साइनबोर्ड लगाएका छन् ।

    तर त्यहाँ न चामल उद्योग छ, न त कुटानीपिसानी गर्ने मेसिन नै ? बाहिर बोर्ड झुण्ड्याउँदै सडक छेउमा डिजिटल काँटा राखेर भारतबाट आयातित चामल तौल गर्ने र नेपालको ब्राण्ड प्रिन्ट गरिएका बोरामा प्याकिङ गरेर ट्याक्टरमा लोड गर्ने कार्य त्यहाँ भइरहेको जो–कोहीले हेर्न देख्न सकिन्छ ।
    चामल उद्योग दर्ता गरेका ती व्यापारीले नेपालको बिल बनाएर बिक्रीका लागि ट्याक्टरमार्फत कपिलवस्तुको चार नम्बर, अर्घाखाँची, प्युठान, बुटवल र पाल्पा लगायत स्थानमा त्यो चामल पुर्याउने गरेका छन् ।कपिलवस्तुकै महाराजगन्ज र हर्दनाबाट कुखुरा तस्करी भइरहेको छ। तस्करले प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनमा पारी तस्करी गरिरहेका छन्। यस क्षेत्रमा पनि चौबीसै घण्टा सुरक्षा फौज बस्ने गर्छ, तर तस्करले जिउँदादेखि काटेको कुखुराको मासु निर्वाध ओसारपसार गर्छन् । कृष्णनगरको दालपुर क्षेत्रबाट चिनी, खसी, माछा र रासायनिक मल तस्करी भइरहेको छ । मूल्यमा अन्तर परेपछि घरायसी प्रयोजनका निम्ति मात्रै नभई व्यापारीहरूले लुकाई छिपाइ नाका छलेर ठूलो परिमाणमा चिनी, चामल, दाल, आलु, प्याज ल्याउने गरेका छन् ।
    सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन छन् ।

    तस्करहरूले बीओपीमार्फत् सशस्त्र प्रहरी उपरीक्षकसम्म रकम खुवाएका कारण सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन बस्ने गरेका हुन् । सीमा नाकाबाट कपडा, खाद्यान्न, मेशिनरी पार्ट्स, खसी–बोका, चप्पललगायतका सामाग्रीहरू तस्करी हुने गरेको छ । तर यहाँ खटिएका सशस्त्र प्रहरीहरू कमाउ धन्दामा लागेका छन् । जिल्लाको कृष्णनगर पश्चिमका सीमा नाका, कृष्णनगर आसपास, कुशहवा बढनी, मर्यादपुर, रंगपुर, चाकरचौडा लगायतका सीमा नाकामा तस्करीका घटना बढेका छन् । आम सर्वसाधारणले घरायसी प्रयोजनका लागि भारतीय बजारबाट सामान ल्याउँदा निकै कडाइ गर्ने सशस्त्र प्रहरीहरू ठूलो संख्यामा भन्सार छली हुँदा मौन बस्ने गरका छन् । सादा पोसाकमा खटिने सशस्त्र प्रहरीहरूले मासिकरूपमा अवैध रकम संकलन गरेर सशस्त्र प्रहरीका जिल्ला प्रमुखसम्म पुर्याउने गरेको स्रोतको दाबी छ । तर तस्करी गर्नेहरूसँग आफूहरूको कुनै प्रकारको सेटिङ नरहेको सशस्त्र प्रहरी उपरीक्षक बताउँछन्। अहिले सबै भन्दा बढि कपडा, सुर्ती र माछा विभिन्न बाटो हुदै नेपाल भित्रिरहेको छ ।

    मर्यादपुरको ननवा, मर्यादपुर, बन्धा, र कचरीहवाबाट मटर भारत निकासी हुदै आएको छ । स्थानीय व्यापारी बजरंगी मिश्रा, मुबारक मुसलमान, कादिर मुसलमानले पिकअप भ्यानमै हालेर सीमापार गराउने गरेको स्थानीयबासीहरु बताउछन् । मोटरसाइकल र साइकलमा मटर ओसार्ने पोके तस्करहरु समेत रातभरी सोहि नाकाहरुबाट क्यारिङ्ग गरि पारी पुरयाउने गर्दछन् । चाडबाडको मुखमा कपडाको अत्याधिक माग बढेपछि भारतबाट अवैध बाटो अत्याधिक मात्रामा कपडा आयात भएको छ । सदरमुकाम तौलिहवा, बाणगंगा मात्र नभई अर्घाखाँची तथा बुटवल सम्म तस्करीको कपडा पुगेको छ । तिहार सम्म कपडाको माग अत्याधिक भएको र तस्करी अझ बढ्ने श्रोतको दाबी छ । विशेष गरि तौलिहवाका व्यापारीहरुले तस्करी गरि कपडा मगाउने र यहाँबाट आफ्नो बिल काटेर बुटवल र बाहिर पठाउने गरेका छन् । मर्यादपुरकै स्थानीय सुनिल जैसवाल, महेन्द्र पाल तौलिहवाकै संदिप जैसवाल, लक्ष्मण गुप्ताले भारतबाट कपडा ल्याएर तौलिहवाका ठूला कपडा व्यापारीलाई दिने गरेका छन् । सेटिङ्गमा सीमा प्रहरी चौकी मर्यादपुरका प्रहरी नायब निरिक्षक र डंगरी बर्डर आउट पोष्टका प्रहरी निरिक्षकले महिनावारी लिएर आखाँ चिम्लिएर बसेका छन् । खाद्यान्न र कपडा तस्करहरुले मासिक लाइन बुझाउने गर्दछन् भने साइकल र मोटरसाइकलका पोके तस्करहरुले हप्ता बुझाउने गरेका छन् । मर्यादापुरमा रहेको नेपाल प्रहरीको कार्यालयको ३–४ सय मिटर पश्चिम गाउँ पछाडीबाट खुल्लेआम तस्करी मौलाएको छ । त्यहाँ दश गजा नजिकै रहेको आपको बगैंचामा तस्करको समुह आएर रोकिने र नजिकै प्रयोग बिहिन रहेको कुलोबाट पालैपालो तस्कर सामान सहित मुख्यबाटोमा आइ आफ्नो गन्तब्य तर्फ लाग्ने गर्छन् । त्यहाँबाट बिशेष गरि चामल, चिनि, कपडा, हार्डबेयर, किराना समानहरु लगायत अन्य किसिमका बस्तुको तस्करी हुने गरेको छ । स्थानीय कोपवा गाउँसम्म पुगेको बाणगंगा सिचाइ परियोजनाको मुख्य नहर संगै रहेको बाटो तस्करको मुख्य रोजाइमा रहेको छ । स्थानीय गोदाममा थन्किएको सामान बिहान १० बजे अघि र साझ ४ बजे पछि बाइकमा खुल्ला रुपमा लोड गरि विभिन्न बजारका ब्यापारी कहाँ पुग्ने गरेको छ । शिवलवा क्षेत्रबाट अवैध तरिकारले चामल तथा अन्य खाद्यबस्तु तस्करी हुने गरेको छ । शुद्धोधन गाउँपालिका, ५ शिवलवा बोर्डरबाट दैनिक जस्तो अवैध तवरले खाद्यबस्तु नेपाल तर्फ भित्रिने गरेको पाइएको हो । कृष्णनगर, विजयनगर र महाराजगंज नगरपालिकामाको सिमा क्षेत्र बाट भारतीय कुखुराको व्यापक तस्करी भैरहेको छ । भारतबाट सस्तो मूल्यमा किनेर ल्याइएका कुखुराहरू तस्करी गरी नेपालका विभिन्न ठांउमा पुर्याउने गरेका छन् ।

    शिवलवा नाकामा मूख्य गरि दुईजना भारतीय र तीनजना नेपाली ब्यापारीहरु उक्त तस्करीमा संलग्न रहेको श्रोतले बताएको छ । वर्डपुर बस्ने मनोज जैसवाल, अमहवा बजार बस्ने अन्सार मुसलमान भारतीय ब्यापारी रहेका छन् भने घिराउजोत बस्ने राजकुमार यादव, बिडि यादव र बुडन्तापुर बस्ने गज्जु जैसवाल नेपाली ब्यापारी रहेका छन् । घिराउजोतका राजकुमार र बिडि मल, खाद, प्याजको समेत नेपाल तर्फ तस्करीमा संलग्न रहेको श्रोतको दाबी छ । उनीहरुले नक्कली अनलाइन बिल बनाएर, नक्कली क्युआर कोड राखेर प्रहरी प्रशासनलाई झुक्काउँदै गैरकानुनी काम गर्ने गरेका समेत बुझिएको छ । यहाँबाट चौबिसै घण्टा चिनी, प्याज, खाद्यान्न र मोटरपार्टस तस्करी भइरहेको छ । तस्करी गरी भित्राइएका समान आउने ठाउँमा प्रहरी चौकीहरू छन् । भारतसँग सीमा जोडिएका यी प्रहरी चौकी र सशस्त्र प्रहरीका बिओपीहरुलाई आर्थिक प्रलोभनमा पारेर भन्सार बिनै सामान तस्करहरूले ल्याउने गरेको स्रोतको दाबी छ । शिवलवामा सशस्त्र प्रहरी सीमा सुरक्षा चेक पोस्ट (बीओपी) पनि छ । सशस्त्र प्रहरीको काम सीमा क्षेत्र सुरक्षाका साथै तस्करी रोक्नु पनि हो तर, ठाउँ–ठाउँमा बीओपीहरू भएपनि तस्करी रोक्ने कार्य गरेको भने पाइँदैन् । शिवलवा बिओपी इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक र हथिहवा स्थित नेपाल प्रहरीका सईकै मौन समर्थनमा उक्त क्षेत्रमा तस्करीले बढावा पाएको छ ।

    कृष्णनगर नगरपालिका वडा नम्बर ५ बगही, वडा नम्बर ६ भिल्मी, कर्मा लोहटी नाका भएर दैनिक तस्करी भइरहेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ८, बहादुरगंज बस्ने छोटु अग्रहरी, सुर्जा अग्रहरी, दिलिप अग्रहरी, दिनेश अग्रहरी लगायतले प्रहरी सेटिङमै तस्करी गरिरहेका छन् । उनीहरुले रेडिमेट कपडा, चिनी, जिरा, दाल, तेल, मैदा, पेन्ट, मोटर पार्टस्को तस्करी गर्दै आएको स्रोत बताउँछ । उनीहरुले स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी लाई मासिक लाईन दिएर तस्करी गराउने गरेका छन् । भारतीय बजार बढनी, कोटीया, शोहतगढ, जस्ता ठाउँबाट सामान किनेर नेपालमा तस्करी गराउँदै आएका छन् । बहादुरगञ्जका दिलिप गुप्ता, श्रीकान्त गुप्ता, सत्यनारायण गुप्ता र सन्तोष गुप्ता संलग्न छन् । यूरिया मलको पनि तस्करी बढेको छ । यस्तो तस्करीमा बहादुरगञ्जका उमेश गुप्ता, सत्यनारायण गुप्ता, नवल गुप्ता, सन्तोष गुप्ता, देवानगढियका हरिराम यादब लगायतका व्यक्तिहरु संलग्न छन् । यसरी दिनदहाडै प्रहरी प्रशासनको अगाडी देखि राजस्व छली गरेर आयात निर्यात गरिनुमा दोषी को ? यसमा ध्यान कसको जाने।
    बाकी भिडियोमा पनि छ हेर्नुस

    प्रतिकृया दिनुहोस्